निर्माण व्यवसायी संघ मकवानपुरले १० वर्ष पछि हेटौंडामा व्यापार महोत्सव गर्दै

छहारी संवाददाता
माघ १५, २०८१

१० वर्षपछि निर्माण व्यवसायी संघ मकवानपुरले हेटौंडामा व्यापार महोत्सव गर्ने भएको छ ।

२०७१ सालमा पहिलो पटक महोत्सव गरेको संघले १० वर्षपछि महोत्सव गर्न लागेको हो । मंगलबार पत्रकार सम्मेलन गर्दै दोश्रो संस्करणको रुपमा राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ फागुन ६ गतेदेखि १८ गतेसम्म हेटौंडा १० स्थित टिसिएन चौरमा महोत्सव गर्न लागिएको जानकारी दिएको हो ।

निर्माण व्यवसायीसंगै आर्थिक गतिविधिलाई समेत थप चलायमान बनाउन महोत्सवले योगदान पु¥याउने संघका अध्यक्ष बालगोपल कँडेलले बताउनुभयो । महोत्सवमा निर्माण उद्योग क्षेत्रको वर्तमान समस्या, चुनौती, अवसरका बारेमा छलफल, गोष्ठी लगायतका अन्तरक्रियात्क कार्यक्रम हुनेछ ।

निर्माणको क्षेत्रमा प्रयोगमा आएका अत्याधुनिक उपकरण र निर्माण सामग्रीहरुको प्रदर्शनी र बिक्री समेत गरिने अध्यक्ष कँडेलले बताउनुभयो । महोत्सवको अवधिमा निर्माण व्यवसायी, दर्शक, उपभोक्ताहरुका राय, सल्लाह, सुझाव समेत संकलन गरिने उहाँले बताउनुभयो ।

महोत्सवमा निर्माण उपकरण, निर्माण सामग्री, औद्योगिक उत्पादन, स्थानीय उत्पादन, हस्तकला सामग्री लगायतका ३ सय ५० वटा स्टलहरु रहनुको साथै गायन क्षेत्रको आइडल र मनोरञ्जनात्मक कार्यक्रमको प्रस्तुति समेत रहनेछ ।
महोत्सवको प्रवेश शुल्क ७५ रुपैंया र विद्यार्थीको लागि ५० रुपैंया तोकिएको आयोजकले जनाएको छ ।

महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न २ सय ११ सदस्यीय महोत्सव मुल आयोजक समिति र विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*