कुलेखानी जलविद्युत् आयोजनाको दुबै ढोका खोलियो
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानी भरिएपछि ढोका खोलिएको छ ।
बाँधको सुरक्षालाई समेत मध्यनजर गरी १ मिटर र ५० सेमिका दुईवटै ढोका खोलिएको हो । ड्यामका दुबै ढोका खोलेर पानी निकाशा गरिएको कुलेखानी जलविद्युत् आयोजना प्रथमका प्रमुख तारादत्त भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेलाई प्रतिमिनेट तीन सय क्यूसेक पानी खोलिएको ् र आवश्यकता अनुसार बढाउँदै लैजाने उहाँले बताउनुभयो । २०५० साल यता पहिलो पटक ड्यामको ढोका खोलिएको हो । अविरल वर्षाको कारण कुलेखानी ड्याम भरिएर बिहान साढे चारबजेदेखि नै साइरन सहित ओभरफ्लो भएको थियो । जलाशयको भण्डारण क्षमता समुन्द्री सहतदेखि एक हजार पाँच सय ३० मिटर रहेको छ । ड्यामको ढोका खोलेर पानी पठाउँदा मकवानपुरको सिस्नेरी, ठिंगन वेसी, फापरबारी, राईगाउँ हुँदै सिन्धुली,रौतहट र सर्लाहीका वागमती नदी किनाराका बस्तीहरूमा बाढी आउन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू एवं स्वयंसेवकहरू हाइ एलर्टमा रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताउनुभयो । जनधनको क्षती हुन नदिनका लागि उच्च सर्तकता अपनाइएको उहाँले बताउनुभयो ।