अहिलेपनि जिवनजल र सिटामोल आम नागरिकको पहुँचमा छैनः स्वास्थ्यमन्त्री थापा
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले अहिलेपनि जिवनजल र सिटामोल आम नागरिकको पहुँचमा नरहेको बताउनु भएको छ ।
बिहिबार बागमती प्रदेशको राजधानी हेटौंडामा सेभ द चिल्ड्रेनको ग्लोबल फन्ड अनुदान मार्फत निर्माण गरिएको स्वास्थ्य सामग्री भण्डारण भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले अहिलेपनि जिवनजल र सिटामोल नपाएर नागरिको मृत्यु भइरहेको बताउनु भयो । उहाँले विकट क्षेत्रमा सरकारका सेवा सुविधा र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पर्याप्त पुर्याउन जरुरी रहेको बताउनुभयो ।

प्रदेश सरकारसंग पर्याप्त भौतिक संरचना नहुँदा औषधी तथा भ्याक्सिनजन्य सामग्रीहरूको भण्डारणमा समेत समस्या हुँदै आएको भन्दै मन्त्री थापाले अब औषधीजन्य पदार्थको गुणस्तर कायम गर्न तथा व्यवस्थापनको समस्या अन्त्य हुने बताउनुभयो ।

कार्यक्रममा सेभ द चिल्ड्रेन नेपालकी राष्ट्रिय निर्देशक तारा क्षेत्रीले स्वास्थ्य सेवा आपूर्तिलाई सुदृढ बनाउन नवनिर्मित भवन उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । सरकारको विकेन्द्रीकृत र पहुँचयोग्य स्वास्थ्य प्रणालीको अवधारणा अनुरूप सो भवन निर्माण गरिएको उहाँको भनाइ थियो ।

बिहिबार एक कार्यक्रमका बीच निर्देशक क्षेत्रीले प्रदेश सरकारलाई औपचारिक रुपमा भवन हस्तान्तरण गर्नु भएको हो । सेभ द चिल्ड्रेनको ३ करोड २८ लाख आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित स्वास्थ्य सामग्री भण्डारण भवन ४ सय ७० वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । यस भवनमा भण्डारण कक्षको अलावा एक प्रादेशिक बायोमेडिकल वर्कशप समेत रहेको छ ।







