बागमती प्रदेशका ८ सय ४८ विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू

छहारी संवाददाता
साउन २३, २०८१

बागमती प्रदेशका ८ सय ४८ विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू भएको छ ।  त्यसका लागि प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा ३ सय २९ जना विद्यालय नर्स थप गरेको छ । यसअघि प्रदेशका ५ सय १९ विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम लागू भएको थियो ।

प्रदेश सरकारको महत्वपूर्ण कार्यक्रमका रुपमा आर्थिक वर्ष २०७५/७६ मा २० ओटा विद्यालयबाट सुरु भएको एक विद्यालय एक नर्स कार्यक्रम प्रदेशका ८ सय ४८ ओटा विद्यालयमा लागू भएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयका प्रवक्ता सतिश विष्टले जानकारी दिनुभयो ।

कक्षा १२ सम्म सञ्चालन भएका प्रदेशका १३ ओटै जिल्लामा रहेका माध्यमिक विद्यालयमा यो कार्यक्रम लागू गरी विद्यालय तहदेखि नै बाल बालिकाहरुमा स्वस्थ जीवनशैलीको विकास गर्ने लक्ष्य राखेर यो कार्यक्रम ल्याएको प्रवक्ता विष्टले बताउनुभयो । प्रवक्ता विष्टले आर्थिक वर्ष २०८०/८१ मा छनोट भएका ३ सय २९ जना विद्यालय नर्सहरुलाई अभिमुखिकरण तथा नियुक्ति पत्र प्रदान गर्ने कार्य भइरहेको जानकारी दिनुभयो ।

पहिलो चरणमा मंगलबार चितवनका लागि छनौट भएका ५० जना विद्यालय नर्सहरुलाई अभिमुखिकरण गरिएको र बुधबार मकवानपुर र सिन्धुलीका विद्यालय नर्सहरुलाई अभिमुखिकरण गरिएको उहाँले बताउनुभयो । छनोट भएका बाँकी विद्यालय नर्सहरुको साउन २६ गते सम्म काठमाडौंमा अभिमुखिकरण हुने निर्देशनालयका प्रवक्ता विष्टले बताउनुभयो ।

बागमती प्रदेशका ८ सय ४८ विद्यालय मध्ये सबैभन्दा धेरै काठमाडौं जिल्लाका १ सय ८ विद्यालयमा विद्यालय नर्स कार्यक्रम लागू भएको छ । मकवानपुरमा यस वर्ष १८ विद्यालयमा विद्यालय नर्स कार्यक्रम लागू भएको छ । यसअघि मकवानपुरका ४४ विद्यालयमा यो कार्यक्रम लागू भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*