खाली बोतलसंग बिरुवा साट्ने अभियान प्रभावकारी छः हेटौंडा ४ का अध्यक्ष सिग्देल

छहारी संवाददाता
साउन १९, २०८१

बागमती प्रदेशको राजधानी हेटौंडाका युवाले दिगो भविष्यका लागि प्लाष्टिक रहित पृथ्वीको परिकल्पनासहित कार्य थालेका छन् ।

वनविज्ञान संकायका विद्यार्थीहरुले हरित शहरको परिकल्पना र सफा स्वच्छ शहरीकरण मार्फत दिगो भविष्य स्थापनाका लागि भन्दै प्लाष्टिकको बोतलसंग बिरुवा साट्ने अभियान थालेका हुन् ।

क्रियसन नेपाल नामक संस्थाको आयोजनामा शनिबार हेटौंडा–४ स्थित हुप्रा चौरमा प्लाष्टिकको बोतलसंग बिरुवा साट्ने कार्यक्रम सम्पन्न भएको हो । एन वाइ सिए हेटौंडा, रोट्र्याक्ट क्लब अफ हेटौंडा, रोट्र्याक्ट क्लब अफ मकवानपुर र द क्यान्डिड स्टुडियोको समन्वयमा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नविन सिग्देलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष सिग्देलले युवाहरुले अघि सारेको प्लाष्टिकको बोतलसंग बिरुवा साट्ने अभियानले वातावरण जोगाउन नागरिकमा सचेतना फैलाउन मद्धत गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले ८ वटा खाली बोतलसंग एउटा बिरुवा साट्ने अभियान फरक ढंगको तर प्रभावकारी लागेको बताउनुभयो ।

कार्यक्रममा सहभागी रोट्रयाक्ट क्लब अफ हेटौंडाकी अध्यक्ष सुमित्रा लामाले आफुले जम्मा गरेको बोतलसंग बिरुवा साट्न पाउँदा खुसी व्यक्त गर्नुभयो । उहाँले प्रयोगविहिन वस्तु लिएर, वातावरण सुधारमा महत्वपूर्ण भुमिका खेल्ने बिरुवा प्रदान गर्ने अभियान उदाहरणीय रहेको बताउनुभयो ।

भीएफसी युथ हेटौडाका भोलेन्टिएर अभिशेक चन्द र प्रतीक्षा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा युवा, ज्येष्ठ नागरिक, बालबालिका गरी करिव ५५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुबाट करिव ५ सय ओटा प्लाष्टिकका बोतलसंग ९० ओटा बिरुवा साटिएको भियफसी भोलेन्टिएर सृजना सुबेदीले जानकारी दिनुभयो ।

कार्यक्रमका लागि डिभिजन वन कार्यालय मकवानपुर र डिभिजन वन कार्यालय राप्ती, मनहरीबाट बिरुवा उपलब्ध भएको र आगामी दिनहरुमा पनि वातावरण जोगाउन सचेताना फैलाउने खालका कार्यक्रमहरु लिएर आउने आयोजक कमिटीका निश्चल भट्टले जानकारी दिनुभयो । कार्यक्रममा युथ समूहका १० जना पदाधिकारी सहभागी थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*