बागमती प्रदेशका नवनियुक्त प्रदेश प्रमुख देवकोटाद्वारा पदभार ग्रहण

बागमती प्रदेशका नवनियुक्त प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पदभार ग्रहण गर्नुभएको छ ।
बागमती प्रदेशको चौथो प्रदेश प्रमुख बन्नुभएका देवकोटालाई शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित औपचारिक कार्यक्रममा निवर्तमान प्रदेश प्रमुख यादवचन्द्र शर्माले पदभार ग्रहण गराउनुभएको हो ।
पदभार ग्रहण पश्चात प्रदेश प्रमुख देवकोटाले नेपालको संविधान र कानुनको अधीनमा रही विधि प्रक्रिया अपनाएर आफूले काम गर्ने बताउनुभयो । उहाँले आफ्नो अनुभव र भिजनलाई बागमती प्रदेशको उन्नती र समृद्धीको लागि सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
साउन १४ मा बसेको संघीय सरकारको मन्त्रिपरिषद् बैठकले बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माको ठाउँमा देवकोटालाई नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति पौडेलले देवकोटालाई बुधबार प्रदेश प्रमुखमा नियुक्त गर्नु भएको थियो भने बिहीबार पद तथा गोपनीयताको शपथग्रहण गराउनु भएको थियो ।
प्रदेश प्रमुख देवकोटाको पदभार ग्रहण कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, प्रदेश सभाका सभामुख भुवनकुमार पाठक, प्रदेशका मन्त्रीहरू, मन्त्रालयका सचिव तथा सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो । निवर्तमान प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई शुक्रबार नै बिदाइ गरिएको छ । नवनियुक्त प्रदेश प्रमुख देवकोटाले शर्मालाई माला र खादा लगाएर बिदाइ गर्नु भएको हो ।