विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित

बागमती प्रदेशसभाबाट विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको छ ।
बुधबार बसेको प्रदेशसभामा सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले पेस गर्नु भएको उक्त विधेयक सर्वसम्मत पारित भएको हो ।
सभामुख भुवन कुमार पाठकले मन्त्री खड्गीकोे प्रस्तावलाई निर्णयार्थ पेस गरेपछि उक्त विधेयक बैठकमा उपस्थित सांसदहरूले सर्वसम्मतले स्वीकृत गरेका थिए ।
सभामुख पाठकले ३ मिनेटको समय निर्धारण गरी उक्त विधेयक माथि छलफलमा सहभागी हुन रुलिङ गरे पनि कुनै सांसदले छलफल गर्न चाहेनन् । सांसदहरूले छलफलमा भाग नलिएपछि सभामुखले विधेयक पारितको प्रक्रियामा अघि बढाउनु भएको थियो । उक्त विधेयक संसद्बाट पारित भएसंगै ऐनको रूप प्रदान गर्न प्रदेश प्रमुख समक्ष प्रमाणीकरणका लागि पठाइने छ ।