बागमती प्रदेशमा द्रुत प्रतिकार्य टोली (क्युआरटी) गठन
बागमती प्रदेशको भौतिक पूर्वाधर विकास मन्त्रालयले मनसुनजन्य तथा अन्य प्राकृतिक विपद्का लागि क्वीक रेस्पोन्स टीम (क्युआरटी) अर्थात द्रुत प्रतिकार्य टोली गठन गरेको छ ।
बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी प्रादेशिक सडक यातायात गुरुयोजना अन्तरगत रहेका सडक सञ्जालहरुमा प्राकृतिक विपद्बाट भएका अवरोध तत्काल हटाउन द्रुत प्रतिकार्य टोली (क्युआरटी) गठन गरिएको जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा भौतिक पूर्वाधर विकासमन्त्री अमन कुमार मास्केले प्राकृतिक विपद्का कारण आपतकालीन आवागमन अवरुद्ध हुने गरेको र न्यूनतम सूचना प्रवाह तथा समन्वयको अभावमा प्रदेशवासीलेले सास्ती खेप्नु परेकोले आफ्नो मन्त्रालयले यसको उत्तरदायित्व लिएको बताउनुभयो । क्युआरटी गठनका विषयमा जानकारी दिँदै मन्त्री मास्केले साना लाग्ने विषयमा गम्भिर हुनसके जनतालाई उपलब्धि दिन सकिने बताउनुभयो ।
मन्त्री मास्केले तत्काल मोवाईल टिम खटाउने र सडकसञ्जालको अवस्था बारे जानकारी लिने र स्थानिय सञ्चारमाध्यमबाट त्यसको सुचना प्रवाह गरी नागरिकसम्म पुर्याउने बताउनुभयो ।
यातायात पूर्वाधार निर्देशानालय हेटौंडाका निर्देशक पुष्कर प्रसाद पोखरेलको संयोजकत्वमा गठित द्रुत प्रतिकार्य टोली (क्युआरटी)मा मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर सुजन भण्डारी, मन्त्रालयका विपद् फोकल पर्सन ज्यानेन्द्र प्रसाद पुन, यातायात पूर्वाधार निर्देशनालयका अधिकृत हरीप्रसाद ओझा र जिल्ला स्थित पूर्वाधार विकास कार्यालयका प्रमुख सदस्य रहेको मन्त्रालयका सचिव अमृत श्रेष्ठले जानकारी दिनुभयो ।
टोलीले अवरुद्ध भएका मुख्य प्रादेशिक सडकहरुको पहिचान गर्ने सूचना सम्प्रेषण गर्ने, वैकल्पिक मार्ग पहिचान गर्ने, आकस्मिक रुपमा अवरुद्ध सडकहरु यथाशीघ्र छिटो संचालन गर्ने, अन्तरनिकायसंग समन्वय गर्ने, कार्यालयगत रुपमा आकस्मिक मर्मत सम्भार शीर्षकमा विनियोजित बजेटबाट स्रोत व्यवस्थापन गर्ने र प्रचलित कानूनको अधिनमा रहेर टोली स्वंयमबाट निर्धारित अन्य कार्यक्षेत्रगत शर्तहरुको कार्यान्वयन गर्ने र गर्न लगाउने सचिव श्रेष्ठले बताउनुभयो ।







