बागमती प्रदेशका मुख्यमन्त्री लामालाई विश्वासको मत प्राप्त

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले विश्वासको मत प्राप्त गर्नुभएको छ । मंगलबार दिउँसो बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाले राख्नुभएको प्रस्ताव बहुमतले पारित भएको हो ।
सभामुख भुवन पाठकले मुख्यमन्त्री लामाले राख्नुभएको विश्वासको मत सम्बन्धि प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नुभयो । प्रस्तावको पक्षमा ६४ मत र विपक्षमा ३५ मत खसेको थियो ।
विश्वासको मत पाएसंगै सञ्चारकर्मीसंग कुरा गर्दै मुख्यमन्त्री लामाले जनतालाई सुशासनको प्रत्याभुति दिलाउनु नै सरकारको प्रमुख जिम्मेवारी भएको बताउनुभयो । कर प्रणालीलाई चुस्त, दुरुस्त बनाएर सरकारको आम्दानीको स्रोत बढाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रदेशको एकल अधिकारलाई सुनिश्चित गर्ने सवालमा सरकार अघि बढ्ने समेत मुख्यमन्त्री लामाले बताउनुभयो ।
बागमती प्रदेश सभामा रहेका ७ दल मध्य नेपाली कांग्रेस र एमाले दुई दलले मात्रै लामालाई विश्वासको मत दिएका थिए । नेपाल मजदुर किसान पार्टीका ३ सदस्य भने तटस्थ रहेका थिए । एकसय १० प्रदेश सभा सदस्य रहेको बागमती प्रदेश सभाको आजको बैठकमा १ सय ३ सदस्य मात्रै उपस्थित थिए । बैठकमा माओवादी केन्द्रको १, राप्रपाको ३ र हाम्रो नेपाली पार्टीका सांसद् भने अनुपस्थित रहेका थिए ।