बागमती प्रदेश सरकारलाई दिएको सर्मथन फिर्ता लिँदै एमाले सरकारबाट बाहिरियो

छहारी संवाददाता
असार २४, २०८१

बागमती प्रदेश सरकारलाई दिएको सर्मथन फिर्ता लिँदै नेकपा एमाले सरकारबाट बाहिरिएको छ । एमालेका पाँचै जना मन्त्रीले सोमबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई संयुक्त रूपमा राजीनामा बुझाउँदै औपचारिक रुपमा समर्थन फिर्ता लिएका हुन् ।

राजीनामा पत्र बुझाउँदै आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले केन्द्रीय सहमति अनुसार राष्ट्रिय सहमतीको सरकार निर्माणको पहल थालिएकाले प्राविधिक रुपमा आफुहरुले राजिनामा दिएको बताउनुभयो । उहाँले नेपाली कांग्रेस, नेकपा एमालेसहित अन्य दलहरु सम्मीलित संयुक्त सरकार गठनको पहल भइरहेको बताउनुभयो । उहाँले राजिनामा दिएर सहमतिको सरकार गठनका लागि मार्ग प्रशस्त गर्न मुख्यमन्त्री जम्कट्टेललाई आग्रह समेत गर्नुभयो ।

एमाले सरकारबाट बाहिरिएसंगै जम्कट्टेल नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ । राजीनामापत्र बुझ्दै मुख्यमन्त्री जम्कट्टेलले एमालेले समर्थन फिर्ता लिएपनि आफुले राजिनामा नदिने बताउनुभयो । उहाँले ढिला नगरी अब प्रदेशसभाबाट विश्वासको मत लिने प्रक्रियामा जाने बताउनुभयो ।

प्रदेश सरकारमा एमालेका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री एकालाल श्रेष्ठ र उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठ रहनु भएको थियो । यसअघि गत वर्ष चैतमा केन्द्रमै भएको एमाले–माओवादीको सत्ता सहकार्यपछि एमाले बागमती प्रदेश सरकारमा पनि सहभागी भएको थियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*