देशभर भारी वर्षाले जनजीवन प्रभावित, हेटौंडाका विभिन्न स्थानका बस्ती डुबान

छहारी संवाददाता
असार २२, २०८१

काठमाडौं सहित देशभर भारी वर्षा भइरहेको छ । शुक्रवार रातिदेखि नै अविरल वर्षा हुँदा जनजीवन प्रभावित बनेको छ । मनसुनी वायुको प्रभावले देशभर अहिले पूर्णतया बदली रही वर्षा भइरहेको छ ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा अहिले भारी वर्षा भइरहेको छ । यी प्रदेश भएर बहने नदीहरूमा जल सतह बढ्नुको साथै विभिन्न स्थानमा पहिरो जाँदा सडकहरू अवरुद्ध भएका छन् । भारी वर्षाका कारण नदीहरुमा बाढी आउने तथा पहिरो जान सक्ने भएकाले शतर्क रहन आग्रह गरिएको छ ।

यसैबीच, लगातारको वर्षाका कारण हेटौंडा–काठमाण्डौं छोटो दुरीका आधा दर्जन स्थानमा अबरोध आएको छ । वर्षाले हेटौंडा–भीमफेदी, कुलेखानी सडक र कान्तिलोकपथ सडक पनि प्रभावित बनेका छन् ।

यता निरन्तरको वर्षाले मकवानपुरका नदि तथा खोलामा पानीको बहाव बढ्नुका साथै हेटौंडा विभिन्न स्थान जलमग्न बनेको छ । हेटौंडाको वडा नम्बर १ चौकीटोल र वडानम्बर ५ शान्तिनगर, सानोपोखरा लगायतका क्षेत्र जलमग्न भएका छन् ।

लगातारको वर्षाले हेटौंडा ५ मा रहेको बस्ती डुवानमा परेको छ । नेपाल प्रहरी, नगर प्रहरी, हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, ५ नम्बर वडा अध्यक्ष सुशील घिमिरे लगायतको टोली उद्दारमा खटिएको छ ।

बर्षा नरोकीए डुवान क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने स्थानीय प्रशासनको तयारी छ । बर्षा अझै आउने सक्ने भएकाले जिल्ला प्रशासन कार्यालय मकवानपुरले नदी तटीय क्षेत्रका स्थानीयलाई सर्तक रहन आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*