नेपाल पत्रकार महासंघलाई फोनिज मकवानपुरको ७ दिने अल्टिमेटम
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले नेपाल पत्रकार महासंघलाई गलत इतिहास सच्याउन भन्दै ७ दिने अल्टिमेटम दिएको छ ।
नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ रहेको दाबी गर्दै फोनिज मकवानपुरले मंगलबार पत्रकार महासंघ मकवानपुर मार्फत केन्द्रलाई ७ दिने अल्टिमेटम दिएको हो ।
फोनिज मकवानपुरका अध्यक्ष अशोक सुजन श्रेष्ठले जारी गर्नु भएको स्मरण पत्रमा २०७९ सालमा श्रेष्ठलाई महासंघको संस्थापक अध्यक्ष कायम गर्नका लागि माग गरिएपनि अग्रजको योगदानलाई सम्मान गर्न महासंघ तयार नभएको भन्दै गलत इतिहासलाई प्रश्रय दिने महासंघको नीतिविरुद्ध निर्णायक आन्दोलनमा उत्रिएको उल्लेख गरिएको छ ।
अध्यक्ष श्रेष्ठले माग पूरा नभए महासंघ कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गर्ने चेतावनी समेत दिइएको छ । अल्टिमेटम तथा स्मरण पत्र पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष मणीराज गौतमलाई बुझाइ केन्द्रिय कार्यालयमा जानकारी गराउन अनुरोध गरिएको छ ।
यस्तै फोनिज बागमती प्रदेश समितीले पत्रकार महासंघ बागमती प्रदेश समितीका महासचिव कृष्ण सारु मगरलाई पनि मागपत्र बुझाएको छ ।






