वन्यजन्तुले बालीमा क्षति पुर्याउन थालेपछि हेटौंडा –६, चौघडाका स्थानीय चिन्तित

छहारी संवाददाता
११ फाल्गुन २०८०, शुक्रबार १६:४०

बाँदर तथा अन्य वन्यजन्तुले बालीमा क्षति पुर्याउन थालेपछि हेटौंडा उपमहानगरपालिका–६, चौघडाका स्थानीय चिन्तित भएका छन् ।

स्थानीयले शुक्रबार जनप्रतिनिधिहरुलाई बाँदर, बँदेल, दुम्सी तथा मृग पसेर विनास गर्ने क्रम बढेकोमा ध्यानाकर्षण मात्र गराएनन् वन्यजन्तु नियन्त्रण तथा त्यसबाट भएको क्षतिपूर्तिको माग गरे । हेटौंडा–६ नम्बर वडामा रहेको रानी तथा चुच्चेखोला सामुदायिक वन समूहसंग जोडिएको करिब तीनसय घरधुरीका बासिन्दा वन्यजन्तुबाट पीडित भएका छन् ।

डिभिजन वन कार्यालय मकवानपुरका अधिकृत बसन्तराज गौतमले वन्यजन्तु, विषेशगरी बाँदरको प्रकोप अहिले राष्ट्रिय समस्या भएको बताउनुभयो । बाँदर संरक्षित वन्यजन्तु भएकाले यसलाई मार्न नमिल्ने तथा उनीहरुको बासस्थान मास्न नहुने उहाँले बताउनुभयो । बाँदरले आहाराको खोजीमा कृषि बालीहरुमा प्रवेश गर्ने गरेको भन्दै बाँदरलाई खानका लागि फलफुलका बोटविरुवा रोपिदिनु नै समस्याको समाधान हुने बताउनुभयो ।

हेटौंडा–६ नम्बर वडाका अध्यक्ष विष्णु बहादुर दाहालले बाँदरले बाँसको मुना समेत सखाप पारिरहेकोले किसानहरुले कुनै खेती गर्ने अवश्था नरहेको बताउनुभयो । यद्यपी बाँदरबाट भइरहेको क्षति न्यूनीकरण गर्न हेटौंडा उपमहानगरपालिकाले खेती नै परिवर्तनको अवधारणा ल्याएको बताउनुभयो । खेती परिवर्तन गर्न चाहने किसानका लागि करीब २५ लाख रुपैयाँको योजना बनाएर बेसार खेतीको अवधारणा ल्याएको जानकारी दिनुभयो ।

बाँदरको आतङकबाट आजित भएका हेटौंडा–६, न्युरेनी, दिव्यनगर, नवप्रभात, शान्ति, रक्षादेवी र चुच्चेखोला क्षेत्रका स्थानीयले वनजन्तुबाट हुने क्षतिलाई रोक्नका लागि संघर्ष समिति नै बनाएर अगाडि बढ्ने तयारी समेत गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*