नेपालले औद्योगिक क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्दैन: कृषिमन्त्री भुसाल
कृषि तथा पशुपन्छी विकास मन्त्री डा.वेदुराम भुसालले देश विकासको प्रमुख आधार नै कृषि र पशुपालन रहेको बताउनु भएको छ ।
हेटौंडा उपमहानगरपालिकाको ५५ औं नगर स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले कृषि र पशुपालनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकको प्रगती गर्ने हो, आर्थिक विकास गर्ने हो भने प्रमुख आधार कृषिलाई बनाउनु पर्ने बताउनुभयो ।
कृषिमा कसैसंग प्रतिस्पर्धा गर्नु नपर्ने भन्दै मन्त्री भुसालले नेपाल जस्तो राष्ट्रले औद्योगिक क्षेत्रमा प्रतिस्पर्धा गर्न नसक्ने बताउनुभयो । उहाँले हेटौंडा कपडा उद्योग बन्द हुनुका कारणहरुबारे खोजी गर्नुपर्ने समेत बताउनुभयो ।
स्थापना दिवसका अवसरमा हेटौंडा उपमहानगरले प्रगति पुस्तिका बिमोचन तथा विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । उपमहानगरले उत्कृष्ठ कृषक, उद्यमी, खेलाडी, करदाता, शिक्षक, पत्रकार, कलाकार, कर्मचारी, सामाजिक संघसस्था, स्वास्थ्य स्वयंसेवीका, टोलविकास सस्था, बाल समुह र जग्गादाताहरुलाई सम्मान गरेको हो ।
उपमहानगरपालिकाले क्रियाशिल पत्रकारिता पुरस्कारबाट पत्रकारहरु भावना रिजाल, अमृत चिमरिया, गणेश दुलाल, सुनिता विष्टर निशा गुरुङलाई नगद सहित सम्मान गरेको छ ।
मेयर मिनाकुमारी लामाको अध्यक्ष्तामा भएको कार्यक्रममा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई, नेपाली कांग्रेस मकवाानपुरका सभापति बुद्ध लामा, नेकपा एमाले मकवानपुरका उपसचिव सीता विष्ट, नेकपा माओवादी केन्द्रका सागर बानियाँ, नेकपा एकीकृत समाजवादी अध्यक्ष विष्णुप्रसाद दाहाल, जनता समाजवादी पार्टीका सोमबहादुर घलान, बाल सञ्जालका सचिव प्रकृति भण्डारी लगायतको आतिथ्यता रहेको थियो ।






