जनता समाजवादी पार्टी माओवादी केन्द्रमा समायोजन
जनता समाजवादी पार्टीको मकवानपुर संस्थापन पक्ष नेकपा माओवादी केन्द्र मकवानपुरमा समायोजित भएको छ ।
शुक्रबार हेटौंडामा नेकपा माओवादी केन्द्रले समायोजन कार्यक्रम आयोजना गर्दै जनता समाजवादी पार्टीको संस्थापन पक्षका एक सय २९ जना नेता तथा कार्यकर्तालाई पार्टीमा समायोजन गरेको हो । जनता समाजवादी पार्टी बागमती प्रदेशका पूर्व परिषद अध्यक्ष एवं अनुशासन समिति संयोजक शुभरत्न गोले तामाङको नेतृत्वमा एक सय २९ जना नेता, कार्यकर्तालाई नेकपा माओवादी केन्द्रका नेताहरुले टिका र खादा लगाएर स्वागत गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथी तथा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवं प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले रगतसँग साटेर ल्याएको गणतन्त्र जोगाउन एकजुट हुनुको विकल्प नभएको बताउनुभयो । प्रदेशको आवश्यक्ता बागमती प्रदेश सरकारले मुख्य रुपमा पुष्टि गरेको भन्दै उनले तामाङ र नेवारको भाषालाई प्रदेशको भाषाको रुपमा राखेर नयाँ आयाम थपेको दाबी गर्नुभयो ।

पद भन्दा पनि जिम्मेवारी महत्वपूर्ण रहेको जिकिर गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास एकढिक्का भएर गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विचारको हिसावले सबैभन्दा अग्रगामी विचार र कार्यदिशा भएको पार्टी माओवादी भएकाले देशमै एक नम्बरको जिल्ला कमिटी बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका विशेष अतिथि तथा नेकपा माओवादी केन्द्रका बागमती प्रदेश उपाध्यक्ष एवं बागमती प्रदेश सांसद प्रेम बहादुर पुलामीले समाजवादहुँदै साम्यवाद ल्याउन सबै राष्ट्रबादी एकजुट हुन मकवानपुरबाट राम्रो सन्देश गएको बताउनुभयो । परिवर्तनको शुरुवात सानो झिल्कोबाट हुने भन्दै उहाँले मकवानपुरले देशभर सकारात्मक र एकजुट हुन पहल गरेको दाबी गर्नुभयो ।
जनता समाजवादी पार्टी बागमती प्रदेशका पूर्व परिषद अध्यक्ष एवं अनुशासन समिति संयोजक शुभरत्न गोले तामाङले समाजवादको अन्तिम यात्रा तय गर्न माओवादी केन्द्र मात्र विकल्प रहेकाले आफुहरु मातृसंस्था माओवादी केन्द्रमा गोलबन्द भएको बताउनुभयो । उत्पीडित जाती, वर्गको उत्थानका लागि जसपामा लागेर काम गरेको स्मरण गर्दै विदेशी दलालहरुले नेकपा माओवादी केन्द्रलाई घेराबन्दीमा पारिरहेकाले सिद्धान्त र गन्तव्य एउटै भएकाले समायोजन भएको जिकिर गर्नुभयो ।
नेकपा माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य एवं जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, पार्टीका बागमती प्रदेश सदस्य प्रेम भुजेलले मन्तव्य व्यक्त गरेको कार्यक्रम नेकपा माओवादी केन्द्र मकवानपुरका संयोजक सर्केश घलानको अध्यक्षतामा सम्पन्न भएको थियो ।







