हेटौंडाको बसपार्कमा घरेलु उत्पादन प्रदर्शनी तथा नृत्य प्रतियोगिता हुने
आगामी पुस २ र ३ गते हेटौंडाको बसपार्कमा घरेलु उत्पादन प्रदर्शनी तथा नृत्य प्रतियोगिता हुने भएको छ ।
प्रदर्शनी आयोजक हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० ले मंगलबार पत्रकार सम्मेलन गरी प्रदर्शनी तथा प्रतियोगिता गर्ने बारे जानकारी गराएको हो । पत्रकार सम्मेलन १० नम्बर वडा अध्यक्ष फुर्वा दोर्जे लामाले हेटौंडाका १९ वटै वडामा रहेका घरेलु उत्पादनलाई प्रदर्शनीमा राखिने जानकारी दिनुभयो ।
उहाँले किसान र घरेलु सामग्री उत्पादक उद्यमीहरुले उत्पादन गरेका सामग्रीहरुको प्रवद्र्धनका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । स्थानीय उत्पादनको बजारीकरण, स्वरोजगार सृजनालाई सहयोग पुर्याउने मुख्य उद्देश्यले प्रदर्शनी गर्न अध्यक्ष लामाले बताउनुभयो ।
२ दिनसम्म चल्ने प्रदर्शनीमा स्थानीय भाषा, संस्कृति झल्किने नृत्य प्रतियोगिता हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार, दितिय हुने टिमले ३५ हजार र तृतीय हुनेले २० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । ३० वटा स्टलहरु रहने प्रर्दशनीमा स्टलहरु निशुल्क रुपमा उपलब्ध गराइने आयोजक १० नम्बर वडा कार्यालयले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा वडा सदस्य साधना श्रेष्ठ, इश्वर प्रसाद मैनाली लगायतकाको आतिथ्यता रहेको थियो ।







