संघीयता कमजोर नहुनेगरि स्थानीय तहलाई बलियो बनाउनुपर्छः आर्थिक मामिला मन्त्री लामा, बागमती प्रदेश
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि बहादुर सिंह लामाले संघीय व्यवस्था कमजोर नहुने गरि स्थानीय तहलाई बलियो बनाउनुपर्ने बताउनु भएको छ ।
सोमबार जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक समिक्षा कार्यक्रमलाई बोल्दै उहाँले पछिल्लो समय देशमा तीनवटै तहले आफ्नो अधिकारको मात्रै विषय उठान गर्दा एकआपसमा अन्तद्र्वन्द्व जस्तो स्थिति पैदा भएको उनले उल्लेख गरेका छन् । तहगत सरकारबीचमा अन्तद्र्वन्द्व हुँदा संघीयता कमजोर हुनसक्ने भन्दै उहाँले सरोकार पक्ष सबै यसमा गम्भीर बन्नुपर्ने बताउनुभयो ।
संघ, प्रदेश र स्थानीय तहबीच समन्वयकारी भूमिका अहिलेको प्रमुख आवश्यकता रहेकोमा मन्त्रि लामाले जोड दिनुभयो । तीनवटै तहका सरकारबाट बन्ने नीति, नियम, मापदण्ड गहन अध्ययन गरि निर्माण गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । देशमा आर्थिक तरलता रहेको भन्दै मन्त्रि लामाले यसको असर पनि तीनवटै तहका सरकारमाथि हाल परिरहेको जिकिर गर्नुभयो ।
यस्तै, कार्यक्रममा बोल्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाईले कर्मचारिहरु नागरिकलाई सेवा, प्रविधी र प्रवाहमा केन्द्रीत भएर लाग्न निर्देशन दिनुभएको छ । स्थानीय तह बेरुजु उत्पादन गर्ने अड्डा जस्तो भएको भनाईहरु उठ्न थालेको भन्दै उहाँले सुशासनलाई ध्यानमा राखेर काम गर्नुपर्ने बताउनुभयो ।
स्थानीय स्रोतको दोहन, सार्वजनिक सम्पत्तिको दुरुपयोग, दोहोरो भुक्तानीको समस्या रोक्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । स्थानीय तहहरुमा रहेको न्यायिक समितिको भूमिका महत्वपूर्ण रहँदै आएको बताउँदै प्रजिअ सेढाईले थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो ।
यस्तै, बागमती प्रदेश सांसद एकलाल श्रेष्ठले स्थानीय स्रोत साधनको समुचित प्रयोग हुनुपर्ने, स्थानीय तहले जनताको चित्त बुझ्नेगरि काम गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेश र संघ तहमा समुचित बजेट विनियोजन हुन नसकेको भन्दै सांसद श्रेष्ठले योजना र बजेट मन्त्रिको निर्वाचन क्षेत्र केन्द्रीत भएर जाने गरेको गुनासो गर्नुभयो ।
यसैगरि, कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले प्राकृतिक स्रोतको उपयोग गर्ने नीतिहरु बन्ने क्रममा रहेको र आर्थिक समृद्धिकालागि त्यस किसिमका नीतिहरु आवश्यक रहेको बताउनुभयो । समयमा नीतिहरु नबन्दा स्थानीय तहहरुले समस्या भोगिरहेको प्रमुख घलानले उल्लेख गर्नुभयो ।







