गाउँ गाउँमा उद्यमशिल्ता बढाउनुपर्छः जिसस मकवानपुर प्रमुख घलान

छहारी संवाददाता
मंसिर १४, २०८०

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले गाउँ गाउँमा उद्यमशिल्ता बढाउनुपर्ने बताउनु भएको छ ।

बिहिबार बागमती गाउँपालिका–९ अँधेरीमा डिभिजन वन कार्यालय मकवानपुरको आर्थिक सहयोग तथा स्थानीय दक्षिणकाली सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरिएको “दुना टपरी उद्योगकालागि प्रविधी हस्तान्तरण कार्यक्रम” मा बोल्दै प्रमुख घलानले सामुदायिक वनभित्रबाट निस्कने वन पैदावरसँग सम्बन्धीत विभिन्न वस्तुहरु नियमसंगत ढंगले उद्यमशिल्ता एवम् व्यवसायीकरण गरेर आर्थिक उपार्जन गर्न सकिने उल्लेख गर्नुभयो । देशमा राजनीतिक परिवर्तन पश्चात अब आर्थिक अवस्था सुधारमा केन्द्रीत भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

यस्तै, कार्यक्रममा डिभिजन वन अधिकृत पुष्पराज बर्तौलाले समुदायमा रोजगारी शिर्जना गर्ने कुरा ठूलो विषय रहेको उल्लेख गर्नुभयो । डिभिजन वनले अन्य थुप्रै रोजगारी शिर्जना गर्ने किसिमका कार्यक्रमहरुमा निरन्तर सहयोग गर्दै आएको बताउँदै उहाँले समयमै प्रकृया मार्फत माग भइआएमा सहयोग गर्न तयार रहेको बताउनुभयो ।

यस्तै, डिभिजन वन कार्यालय मकवानपुरका वन अधिकृत वसन्तराज गौतमले स्थानीयको जिविकोपार्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले करिव ४ लाख ३८ हजार बराबरको दुना टपरी बनाउने मेशीन सहयोग गरिएको बताउनुभयो । उहाँले स्थानीयले दिगो रुपमा व्यवसाय सञ्चालन गर्ने प्रतिवद्धता जनाएपछि मात्रै मेशीन सहयोग गरिएको बताउँदै निरन्तरतामा जोड दिनुभयो । हाल प्लाष्टिकजन्य सामानहरुको प्रयोगमा कमि ल्याउने नीतिहर बनिरहेको सन्दर्भमा यस किसिमको सामानको बजारको सम्भावना बलियो रहेको पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा डिभिजन वन कार्यालयबाट भुपेन्द्र कार्की जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य तारा ढुङ्गाना, सुमित्रा थिङ, विष्णुमाया थपलिया लगायत स्थनीय वन उपभोक्ता समूहका सदस्यहरुको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*