मकवानपुरगढी गाउँपालिका कार्यालयको काम राष्ट्रिय गानपछि मात्रै सुरु
मकवानपुरगढी गाउँपालिकाले कार्यालयको काम राष्ट्रिय गानपछि मात्रै सुरु गर्ने नयाँ सुरुवात गरेको छ ।
गाउँपालिकाले मंसीर ६ गतेदेखि कार्यालयको काम सुरु हुनु भन्दा पहिला राष्ट्रिय गान गाउने कार्यको सुरुवात गरेको हो । कर्मचारीलाई समयमै कार्यालय उपस्थित गराई राष्ट्रिय गानको सम्मान एवं राष्ट्प्रति भाव बढाउने उद्देश्यले राष्ट्रिय गानबाट सेवा सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीले बताउनु भयो ।
कर्मचारी र सेवाग्राहीमा अनुशासन तथा राष्ट्रप्रतिको भाव अभिवृद्धि गर्न राष्ट्रगानबाट कार्यालयको सेवा सुरु गरिएको कार्कीले बताउनु भयो । राष्ट्रिय गान बाट कार्यालयको काम सुरु गर्दा समयमै कर्मचारी कार्यालयमा उपस्थिति हुने, राष्ट्रप्रतिको माया विश्वास र समपर्ण भावलाई झल्काउनुका साथै सेवाग्राहीलाई समयमै सेवा प्रदान गर्न सकिने र कार्यालयको काम समयामानै हुने विश्वास आम जनसमुदायमा पुराउन सकिने भएकाले पालिकामा यस्तो कार्यको थालनी गरिएको गाउपलिका अध्यक्ष् दोर्जे लामा स्याङ्गतानले बताउनुभयो ।
हाललाई बिहान दश बजे कर्मचारीको सहायताबाट राष्ट्रिय गान बजाइने गरेको भए पनि केही समय पछि अटोमेटिक रुपमा राष्ट्रिय गान बज्ने गरी कार्य भइरहेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीले बताउनु भयो । राष्ट्रिय गानबाट सेवा सुरु गर्दा कार्यालयमा आउने सेवाग्राही, कर्मचारीमा राष्ट्रप्रति भावना र आत्मियता बढ्ने तथा कर्मचारी, सेवाग्राहीमा जहाँ जुनसुकै बेला पनि राष्ट्रप्रति जिम्मेवार बनाउन सहयोग पुर्याउने विश्वास लिएका छौँ कार्कीले बताउनु भयो ।







