भन्सार कडाई नहुँदा नेपाली बजारमा प्लाष्टिकका फूलमाला छ्याप्छयाप्ती बिक्री

निषेध गरेको विषयमा स्थानिय सरकार नै स्पष्ट छैन
छहारी संवाददाता
कार्तिक २६, २०८०

सरकारले वातावरण संरक्षणका लागि भन्दै नेपाली बजारमा प्लाष्टिकका फूल र मालाको कारोबारमा रोक लगाएको छ । विशेषगरी तिहार र छठ पर्वमा प्लाष्टिकजन्य फूलमाला तथा सामग्रीको प्रयोग बिक्रीवितरण नगर्न वातावराण विभागले एकवर्ष अघि नै सचेत गराएको हो । तर बजारमा जताततै कृतिम माला निर्वाध किनबेच भइरहेको छ ।

हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहार । अत्यधिक फूलको प्रयोग हुने भएकाले तिहारलाई फूलैफूलको चाड पनि भनिन्छ । पहिले सयपत्री र मखमली फूलको माला मात्रै प्रयोग हुने तिहारमा पछिल्ला वर्षहरुमा कृत्रिम मालाले स्थान पाइरहेको छ ।

गत वर्षहरुमा जस्तै यसवर्ष पनि प्लाष्टिकका फूल र मालाको किनबेच रोकिएन । वातावराण विभागले प्याष्टिकका माला आयात र बिक्री वितरणमा कडाइ गरे पनि नेपाली बजारमा यसको किनबेच निर्वाध भइरहेको छ । हेटौंडाको मेनरोड, सिमाचोक, खोपेगल्ली, राप्तीरोड लगायतका क्षेत्रमा प्लास्टिकका फूल र मालाहरु छ्याप्छयाप्ती बिक्री भइरहेका छन् ।

स्थानिय सरकारको कमजोरीका कारण प्लास्टिकका फूल र मालाको किनबेच नरोकिएको व्यापारी बताउँछन् । बजारमा आएपछि रोक्नुभन्दा भन्सारबाटै कडाइ हुनुपर्ने उनिहरुको भनाइ छ । भन्सारमा खासै कडाइ नहुने र थोरै पैसामा पनि सामान छाडिदिने गरेको व्यापारीहरु बताउँछन् ।

हेटौंडा बजार क्षेत्रमा अखाद्य वस्तुको बिक्रिवितरण तथा कालोबजारी नियन्त्रण गर्न विभिन्न निकायहरु चाडपर्व लक्षित अनुगमनमा लागि परेका छन् । तर सरकारले प्रतिबन्ध लगाएको कृतिम माला अर्थात प्लास्टिकका फूल तथा मालामा भने कसैको ध्यान जान सकेको छैन । निती बनाउने तर कार्यान्वयनको पाटो कमजोर हुँदा समस्या हुने गरेको उपभोक्ता हित संरक्षण मंचका केन्द्रिय उपाध्यक्ष वासु खतिवडा बताउनुहुन्छ ।

प्लास्टिकका फूलमाला र भारतीय सयपत्री फूल आयातमा सरकारले लगाएको प्रतिबन्धले उत्साही भएका किसानलाई भने निरास बनाउने देखिन्छ । स्थानिय स्तरमा उत्पादित प्राकृतिक फूलको बिक्री बितरणमा असर पुग्ने गुनासो आइरहेकोले आगामी वर्षदेखि हेटौंडा उपमहानगरपालिकाले कृतिम फूलको बिक्रिवितरण नियन्त्रण गर्ने प्रवक्ता सविन न्यौपानेले बताउनुभयो ।

सरकारले २०७९ साल साउन १६ गते नेपालभर प्लाष्टिकको फूलमालाको उत्पादन, आयात र बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाएको थियो । साथै यसवर्षपनि ७७ ओटै जिल्ला प्रशासन कार्यालयमा कृतिम फूलको बिक्रिवितरणका विषयमा अनुगमन गर्न पत्रचार समेत गरेको छ ।

सूचना पाउने बित्तिकै कार्यान्वयन प्रक्रियामा आफुहरु लागेको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईले अघिल्ला वर्षको स्टक सामान व्यपारीले बेच्न राखेको पाइएको बताउनुभयो । कतीपय अवस्थामा व्यवहारिक भएर सोच्न बाध्य भइने भन्दै उहाँले पत्राचर ढिला हुँदा समस्या हुने बताउनुभयो ।

सरकारले वातावरण संरक्षणका लागि भन्दै निषेध गरेको विषयमा स्थानिय सरकार नै स्पष्ट छैन । जसका कारण प्रतिबन्धित वस्तुले बजार ढाकिरहेको छ । बजारमा छ्याप्छयाप्ती देखिएका कृतिम फूलले प्राकृतिक फूलको व्यवसायीक खेती गरी आफु र देशलाई आत्मनिर्भर बनाउ कस्सिएका किसानको विश्वास नतोडोस्, कामना ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*