मकवानपुरमा पनि गैरआवासीय नेपाली नागरिकता वितरण सुरु

हेटौंडा ११ नवलपुरकी विडारीले पाइन् मकवानपुरमै पहिलो गैरआवासीय नेपाली नागरिकता
छहारी संवाददाता
कार्तिक १५, २०८०

मकवानपुर जिल्लामा पनि गैरआवासीय नेपाली  नागरिकता वितरण सुरु गरिएको छ ।

बुधबार गैरआवासी नेपाली (एनआरएनए) हेटौंडा ११ नवलपुरकी संजिता विडारीले जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट पहिलो पटक गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभयो । उहाँलाई मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गर्नु भएको हो । नागरिकता प्राप्त गरेपछि विडारीले ईश्वर, देश र जनताको नाममा शपथ लिनुभएको थियो ।

संजिताका श्रीमान हेटौंडा ५ सानोपोखराका श्रीकृष्ण थापाले पनि बुधबार नै गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नु भएको छ । उहाँहरु विगत १५ वर्षदेखि अष्ट्रेलियामा बस्दै आउनु भएको छ । पुनः नेपाली नागरिकता पाएकोमा खुसी व्यक्त गर्दै थापाले देश प्रतिको माया अझै बढेको बताउनुभयो । आफ्नो देशमा लगानी गर्ने बाटो खुलेको भन्दै थापाले देशलाई आर्थिक रुपमा सहयोग पुग्ने बताउनुभयो ।

यसअघि असोज ३० गते मंगलबार बालुवाटारमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यलाई गैरआवासीय नेपाली नागरिकता दिँदै अभियानको सुरुवात गर्नुभएको थियो । गत जेठमा नागरिकता सम्बन्धी ऐन संशोधन भएपछि गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुलेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*