भीमफेदी १ त्रिखण्डी क्षेत्रमा सवारी दुर्घटना पछि गरिने उद्दार कार्य अर्थात विपद् प्रतिकार्य अभ्यास
चाडपर्वको समयमा सवारी साधनको आवतजावत बढी हुने भएकाले दुर्घटनाको जोखिम पनि उच्च हुन्छ ।
सवारी साधनको संख्या कम हुने तर यात्रुको चाप चाडपर्वमा बढी हुने भएकाले दुर्घटनाको जोखिम पनि बढी हुने गर्दछ । चाप चाडपर्वको समयमा आफ्ना परिवारसंग रमाउन घर फर्किएकाहरु दुर्घटनामा परेर घाइते हुने, ज्यान जानेसम्मका घटना हुने गर्दछन् ।
चालु आर्थिक वर्ष २०८०/८१ को श्रावण १ गतेदेखि हालसम्म मात्रै २७ वटा सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् । यसैलाई मध्यनजर गर्दै मकवानपुरमा कृत्रिम सवारी दुर्घटना गराई त्यसपश्चात गरिने उद्धार कार्यको अभ्यास (डेमो) प्रदर्शन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजनामा भीमफेदी १ त्रिखण्डी क्षेत्रमा सवारी दुर्घटना पछि गरिने उद्दार कार्य अर्थात विपद् प्रतिकार्य अभ्यास गरिएको हो । कृतिम अभ्यास कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेढाईले कृत्रिम दुर्घटना उद्दार अभ्यासले विपद् प्रतिकार्यमा सहभागी हुने टोलीको आपसी तालमेलमा सहयोग पुग्ने बताउनुभयो ।
कृत्रिम अभ्यासमा सवारी दुर्घटनामा परि गाडीमा अड्किएका, खोलामा झरेका यत्रतत्र छरिएका घाइतेलाई प्रहरीले रेस्क्यू गर्दा गरिने कार्यको डेमो प्रदर्शन गरिएको थियो । सडक दुर्घटना हुँदा गरिने उद्दार कार्यको कृत्रिम दुर्घटना अभ्यास कार्यक्रममा जिल्लामा रहेका सुरक्षा निकाय नेपाली सेना गोरख बहादुर गण, सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण, नेपाल प्रहरी, जिल्ला व्यवस्थापन समिती, रेडक्रस तथा पत्रकारहरुको सहभागितामा रहेको थियो ।
मकवानपुरको बढी सवारी आवतजावत हुने पूर्वपश्चिम लोकमार्ग अन्तरगत चुरियामाई, रातोमाटे, हेटौंडा बजार, थानाभर्याङ, मनहरी, नेवारपानी, नवलपुर, लोथर लगाएतका स्थानमा दुर्घटनाको उच्च जोखिम हुन्छ । यस्तै हेटौंडा कुलेखानी सडक अन्तरगत चौकीटोल, त्रिखण्डी, भैंसे, भिमफेदी, देउराली लगायतका क्षेत्रमा बढी दुर्घटना हुन् गरेको प्रहरीले जनाएको छ ।







