मनहरी ४ मसिनेमा रहेको पशुपतिनाथ माविका १ सय १५ छात्रछात्रालाई साइकल वितरण
मकवानपुरको विकट मनहरी गाउँपालिका वडा नम्बर ४ मसिनेमा रहेको पशुपतिनाथ माध्यमिक विद्यालयका छात्र छात्राले विद्यालय आवतजावत गर्न सवारीसाधन पाएका छन् ।
बिहिबार विद्यालयको प्राङगणमा आयोजित कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले विद्यार्थीहरुलाई साइकल वितरण गर्नु भएको हो । विद्यालय आवतजावत गर्न एक घण्टा भन्दा बढी समय लाग्ने यस विद्यालयमा कक्षा ६ देखि कक्षा १० सम्म अध्यनरत १ सय १५ जना छात्र छात्रालाई मनहरी गाउँपालिका वडा नम्बर ४ को १० लाख रुपैयाँ आर्थिक सहयोगमा साइकल वितरण गरिएको हो ।

साइकल वितरण कार्यक्रममा बोल्दै बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले मसिनेको विकटतालाई ध्यानमा राखेर वडाले गरेको कार्य प्रशंसनीय रहेको बताउनुभयो । स्थानिय सरकारबाट प्राप्त सहयोगलाई विद्यार्थीहरुले सदुपयोग गर्नुपर्ने भन्दै मन्त्री मोक्तानले विद्यार्थीको काँधमा जिम्मेवारी थपिएकाले अझै मेहनत गरेर पढ्न आग्रह गर्नुभयो ।
मन्त्री मोक्तानले बागमती प्रदेश सरकारले मकवानपुर जिल्लामा धेरै राम्रा कामहरु गरेको बताउनुभयो । उहाँले स्वास्थ्य, शिक्षा क्षेत्रको विकासका लागि प्रदेश सरकार गम्भिर भएर लागेको बताउनुभयो ।

साइकल वितरण कार्यक्रममा मनहरी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष प्रकाश थापाले शिक्षा विना कुनैपनि गाँउ या समुदायको विकास असम्भव रहेकाले वडाले शिक्षामा जोड दिएको बताउनुभयो । उहाँले विद्यालयदेखि ९ किलोमिटर टाढाबाट पढ्न आउने विद्यार्थीलाई गरिएको सहयोगले उनिहरुको पठनपाठनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले विकट क्षेत्रबाट घण्टौं लाएर विद्यालय आउने विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा अझै सुधार आउनेमा विश्वस्त रहेको बताउनुभयो । साइकल प्राप्त गरेका विद्यार्थीहरुले विद्यालयको पढाई पुरा भएपछि साइकल विद्यालयलाई हस्तान्तरण गर्नु पर्ने सम्झौता भएको छ ।









