विश्व हुलाक दिवस, नेपालमा पनि मनाइयो

हुलाक सेवाको जगेर्ना गर्नु र आँउदो पुस्तालाई यसको महत्वबारे जानकारी गराउनु अत्यावश्यक
छहारी संवाददाता
अशोज २२, २०८०

सोमबार विश्व हुलाक दिवस, सन् १८७४ अक्टोबर ९ मा जापानको टोकियामा विश्व हुलाक संघ गठन भएको सम्झनामा सन् १९६९ वाट औपचारिक रुपमा विश्व हुलाक दिवस मनाउन सुरु गरिएको हो ।

नेपालले सन् १९७६ अर्थात विक्रम संवत् २०१३ असोज २६ गते विश्व हुलाक संघको सदस्यता पाएपछि मात्र हुलाक दिवस मनाउन थालियो । करीब दुईसय वर्ष अघिको इतिहास बोकेको हुलाक अहिलेको आधुनिक युगमा आएर भने ओझेलमा पर्न थालेको हो की भन्ने भान हुन्छ ।

आधुनिक युगमा प्रविधीको विकाससंगै हुलाक सेवा मानिसले विर्सिन थालेका छन् । सञ्चारका अन्य माध्यमको विकास तथा पहुँच बढ्दै गएपछि पछिल्लो पुस्ताले हुलाक सेवाका बारेमा ध्यान दिएको पाइदैन । हुलाकका बारेमा पढेपनि यसको प्रयोगबाट आफु टाढै रहेको बताउनुहुन्छ, विद्यार्थी, सुसना गीरी ।

पहिले मोवाईल, रेडियो, टिभी, इन्टरनेट जस्ता कुरा नभएको हुलाककै माध्यबाट गाउँ र सहरको दुरी छोटिन्थ्यो, ढिलै भएपनि विभिन्न सहर पुगेका आफन्तहरुले पठाएका खबर ल्याउने हुलाक जहिलेपनि महत्वको हुनुपर्ने हेटौंडा ५ का चन्द्र बहादुर पौडेल बताउनुहुन्छ, उहाँ हलकारा अर्थात् हुलाकीहरू पत्रको झोला बोकेर गाँउगाँउमा आएको यसरी संझिनुहुन्छ ।

मनहरी गाउँपालिका १ का गुरु प्रसाद रिजाललाई जन्मदेखि मृत्युसम्म राम्रा नराम्रा, सुख दुःखका खबर आदान प्रदान गर्ने हुलाक सेवा, प्रविधीको विकाससंगै पछिल्लो समय विस्तापित भएको होकी भन्ने लागेको छ।

वर्षौअघि खबर आदान प्रदानको एक मात्र माध्यम हुलाक भएपनि सर्वसाधरणले चिठ्ठी पठाउने र प्राप्त गर्ने कार्य अहिले बन्द जस्तै भएको भुटनदेवी माविका शिक्षक जितकुमार चौलागाइको बुझाइ छ । तर पनि हुलाकबाट पठाइएका चिठ्ठीमा पोखीएका मनका भावहरु अचेलका प्रविधीयुक्त च्याटिङमा प्राप्त नहुने उहाँ बताउनुहुन्छ ।

अहिलेको आधुनिक युगमा पनि हुलाक कार्यालयहरुबाट दैनिक महत्वपूर्ण हुलाक सेवा दिइने गरेको जिल्ला हुलाक कार्यालय मकवानपुरका निमित्त प्रमुख सपना सिवाकोटी बताउनुहुन्छ । मानिसमा पहिलेको तुलनामा हुलाक सेवाको महत्व छैन भन्ने लाग्नु स्वभाविक भएपनि हुलाक सेवा अझै परिस्कृत, सरल र सहज ढंगबाट दिइने गरेको उहाँको भनाई छ ।

हुलाक सेवालाई आधुनिक र प्रतिष्पर्धी बनाउँदै यसको दायरालाई फराकिलो बनाउनु आवश्यक भइसकेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा बताउनुहुन्छ । उहाँले हुलाक सेवामा प्रविधियुक्त संगठनात्मक संरचना बनाउनुपर्ने बताउनु भयो ।

मन्त्री शर्माले सरकारले प्रविधि र भौतिक पूर्वाधार सुधारसहित हुलाक सेवामा व्यापक सुधार ल्याउन पहल गरिरहेको बताउनु भयो । उहाँले सम्पूर्ण सरकारी सामग्रीको ओसार–पसार हुलाकबाटै गर्ने व्यवस्था मिलाउन सरकारले नीतिगत निर्णय गरिसकेको पनि जानकारी गराउनु भयो ।

हुलाक सेवाको पुनःसंरचना गर्नु, स्मार्ट हुलाक बनाउनु र आधुनिक शैलीमा सेवा प्रवाह गर्ने वातावरण बनाउनु सरकारको दायित्व हो । संगै सरकारले हुलाक सेवाको जगेर्ना गर्न र आँउदो पुस्ताहरुलाई यसको महत्वबारे जानकारी गराउनु अत्यावश्यक छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*