हेटौंडामा प्रथम हस्तकला प्रवद्र्धन मेला २०८० सुरु

छहारी संवाददाता
अशोज ३, २०८०

बागमती प्रदेशको राजधानी हेटौंडामा प्रथम हस्तकला प्रवद्र्धन मेला २०८० सुरु भएको छ ।

बुधबारबाट बागमती प्रदेश हस्तकला संघ काठमाडौंको आयोजना तथा उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्रालय बागमती प्रदेशको प्रबद्र्धनमा मेला सुरु भएको हो ।

मेलाको बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा र मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले संयुक्त रुपमा उद्द्घाटन गर्नु भएको हो । संविधान दिवस २०८० को अवसर पारेर हेटौंडा उपमहानगरपालिकाको प्राङ्गणमा सुरु भएको मेला दुई दिनसम्म चल्ने आयोजकले जनाएको छ ।

मेलामा हातबाट बनाइएका ढाकाका टोपी, खादा, जुत्ता व्याग तथा नेपाली कागजबाट बनाइएका विभिन्न सामग्री राखिएको छ । यस्तै पराल र खोस्टाबाट बनाइएका घरेलु सामग्रीहरु पनि मेलामा राखिएको छ । यस्तै परालको सुकुल, खोस्टाको चकटी लगायतका समाग्री प्रत्यक्ष रुपमा बनाएर देखाइएको छ ।

प्रदेशका १३ जिल्लाको सहभागिता रहेको मेलामा हस्तकलाका २१ वटा स्टल रहेका छन् । प्रस्तक कला, धातुकला, काष्ठ कला, चांदीका गरगहना, चित्रकला, धातुको बाघचाल लगायत प्रदर्शनीमा राखिएका छन् । उक्त अवसरमा प्रदेश प्रमुख र मुख्यमन्त्रीबीच मैत्रिपूर्ण बाघचाल खेल समेत भएको थियो । उक्त खेल मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जित्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*