माइती नेपालकको एकीकृत कृषि फार्म तथा तालिम केन्द्र भवनको शिलान्यास
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले एकीकृत कृषि फार्म तथा तालिम केन्द्र भवनको शिलान्यास गर्नु भएको छ ।
मंगलबार माइती नेपालले द कोकाकोला फाउण्डेशनसँगको सहकार्यमा मकवानपुरको गढीगाउँपालिका ५ सानोसुकौरामा निर्माण गर्न लागेको एकीकृत कृषि फार्म तथा तालिम केन्द्र भवनको शिलान्यास भएको हो ।
शिलान्यास पछि मुख्यमन्त्री जम्कट्टेलले एकीकृत कृषि परियोजना धेरै महत्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले मानव बेचबिखन रोकथाम र महिला अधिकार प्रबद्र्धनसँगै ग्रामीण, कृषि र आर्थिक विकासमा सहयोग पु¥याउँने भएकाले प्रदेश सरकारले सहयोग गर्ने बताउँनुभयो । बामगती प्रदेश सरकारले विगतमा भन्दा फरक ढंगले काम गरिरहेको उल्लेख गर्दै उहाँले सरकारको लगानीबाट लक्षित वर्ग र समुदायमा उपलब्धी पुग्ने गरी प्रदेश सरकारले काम गरिरहेको पनि बताउँनुभयो ।
यस्तै, बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले कृषि तथा पशुपालन सम्बन्धी तालिमसँगै महिलाहरुलाई आय आर्जनमा जोड्ने योजना धेरै राम्रो रहेको भन्दै आवश्यक सहयोग गर्ने बताउनुभयो ।
नेपाली काँग्रेस बागमती प्रदेश सभापती एवं प्रदेश सांसद ईन्द्रबहादुर बाँनियाले जिवनसँग संघर्ष गरिरहेका दिदीबहिनीहरुलाई सीपसँग जोडेर काम गर्ने राम्रो उदेश्यले एकीकृत कृषि फार्म तथा तालिम केन्द्रलाई जग्गा माग गर्नु भएकाले जग्गा उपलब्ध गराई दिएको बताउँनुभयो ।
माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोईरालाले एकीकृत कृषि फार्म तथा तालिम केन्द्रले एकीकृत खेती, कृषि तालिम र कृषि पर्यटनको संयोजन गरेर महिलाहरुलाई आर्थिक रूपमा सशक्तिकरण गर्ने बताउँनुभयो । कृषि फार्म तथा तालिम केन्द्र संचालनबाट चेलिबेटी बेचबिखन र बैदेशिक रोजगारीको रोकथाम हुने दाबी गर्दै कोईरालाले बैदेशिक रोजगारको नाममा चरम ठगी, शोषण र अत्याचार भईरहेकाले सचेत रहन युवाहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा माइती नेपालकी कार्यकारी निर्देशक विश्वराम खड्काले मानव बेचविखन एउटा जटिल सामाजिक समस्याको रुपमा आएको र आर्थिक समस्या, गरिबी र महिला माथिको विभेद प्रमुख कारण देखिएकाले माइती नेपालले महिलाहरुलाई प्रविधीसहितको एकीकृत कृषि फार्म तथा तालिम केन्द्र संचालन गरिने बताउँनुभयो ।
६५ रोपनी जग्गामा १ करोड ९२ लाख लागतमा आवासीय सुबिधा सहितको तालिम केन्द्र, कृषि तथा पशुपालन फार्म बनाउन लागिएको हो । सुकौरा एग्रो प्रालिले माईती नेपाललाई उक्त जग्गा १० बर्षका लागि निःशुल्क लिजमा उपलब्ध गराएको छ । एकीकृत कृषि फार्ममा व्यवस्थित तालिम हलसहित ग्रीन हाउस, हाइटेक नर्सरी, आधुनिक बाख्रा, कुखुरा र गाई पालन गरिने बताईएको छ ।
मानव बेचबिखनमा परेका र पर्न सक्ने सम्भावित समुदाय, क्षेत्रका जोखीम उन्मुखहरुलाई तालिम दिई समाजमा पुर्नस्थापना गर्नका लागि एकीकृत कृषि तथा पशुपालन तालिम केन्द्र स्थापनाको तयारी गरिएको माइती नेपालले जनाएको छ ।







