कम्युनिष्ट पार्टीको नेतृत्व रहेसम्म गणतन्त्र र संघियता जोगिइरहन्छः प्रधानमन्त्री प्रचण्ड

छहारी संवाददाता
भदौ २४, २०८०

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र र संघियता रक्षाको लागि समाजवादी मोर्चा गठन भएको बताउनु भएको छ ।

आइतबार हेटौंडामा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कम्युनिष्ट पार्टीको नेतृत्व रहेसम्म गणतन्त्र र संघियता जोगिइरहने बताउनुभयो । गणतन्त्रको लडाई चलिरहँदा यसलाई मुर्त रुप दिन समाजवादी मोर्चाको आवश्यकता महसुस गरेर यसको गठन गरिएको उहाँको भनाई छ ।

उहाँले मधेश आन्दोलन मार्फत संघियताको लडाई लड्ने पार्टीहरु नै समाजवादी मार्चामा रहेको बताउनुभयो । धार्मिक र जातिय मुद्दा उठाएर देशमा द्वन्द भड्काउन खोज्ने शक्तिहरु सल्बलाएको भन्दै उहाँले देशलाई दुर्घटनाबाट बचाउन मोर्चा गठन भएको प्रष्ट पार्नुभयो ।

निरंकुश राजतन्त्रका गुण्डाहरुले लोकतान्त्रिक परिवर्तनका सम्बाहकहरुलाई दिनदहाडै खुकरी प्रहार गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले उनिहरुको दुश्प्रयासलाई सबै मिलेर परास्त गर्नु पर्ने बताउनु भयो । नेपाली कांग्रेसका नेतामाथी केहिदिन अघि भएको खुकुरी प्रहारको घटनाको निन्दा गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

प्रधानमन्त्री प्रचण्डले गठबन्धनको सल्लाह अनुसार अगाडी बढिरहेको भन्दै विदेशियका युवाहरुको लागि सामाजिक सुरक्षा कोष मार्फत २५ लाख युवालाई समेट्ने सरकारको लक्ष्य रहेको बताउनुभयो । यो कार्य समाजवादको भ्रुण रोप्ने कार्य भएको उहाँको दाबी छ ।

समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जसपा र नेत्रविक्रम चन्दको नेकपा सहभागी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*