पाठेघरको मुखको क्यान्सर भएका प्रत्येक तीन जनामध्ये दुईको मृत्यु

डेमोस्ट्रेसनका रुपमा ९ हजार आठ सय जना किशोरीलाई एचपिभि खोप लगाइने
छहारी संवाददाता
भदौ २३, २०८०

आगामी भदौ २७ गतेदेखि १४ वर्ष उमेर पूरा भएका र १५ वर्ष ननाघेका किशोरीलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप लगाइने भएको छ ।

स्वास्थ्य सेवा विभागले पाठेघरको मुखको क्यान्सर रोगको रोकथाम गर्न यो रोग बिरुद्धको २० हजार मात्रा एच।पि।भि। खोप लगाउन लागेको जानकारी दिएको हो । विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा।अभियान गौतमले हाल उपलब्ध भएको एचपिभि खोप ६ महिनाको अन्तरालमा २ मात्रा लगाउनुपर्ने बताउनु भयो ।

उहाँले एच.पि.भि. खोप दुई मात्रा पूरा गरेमा लक्षित गरेको प्रजातिबाट हुने संक्रमणबाट ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गरिने बताउनु भयो । यो खोप यौन सम्पर्क हुने उमेर भन्दा पहिले नै दिएमा बढी प्रभावकारी हुने विभिन्न अध्ययनले देखाएको छ । पहिलो मात्रा खोप लगाउँदा उमेर खुल्ने आधिकारिक प्रमाण, दोस्रो मात्राको हकमा पहिलो मात्रा लगाएको खोप कार्ड आवश्यक पर्ने बताउनु भयो ।

साधारणतया एच.पि.भि खोप लगाएपछि खोप लगाएको ठाउँमा दुख्ने वा सुन्निने, टाउको दुख्ने, वाकवाकी लाग्ने, थकान महसुस हुने, रिगंटा लाग्ने, ज्वरो आउने, एलर्जी रियाक्शन हुने भएपनि यी असरहरु सामान्य मात्रै भएको बताउनु भयो । निकट भविष्यमा १० देखि १४ वर्ष सम्मका सबै किशोरीलाई खोप लगाउने गरी राष्ट्रिय स्तरको नियमित खोप कार्यक्रममा समावेश गरी नियमित खोप चल्ने स्वास्थ्य संस्थाबाट उपलब्ध गराइने जानकारी दिनुभयो ।

एच.पि.भिले महिलाहरुको पाठेघरको मुखको क्यान्सरको साथै यौनाङ्गमा आउने मुसा तथा यौनाङ्गको क्यान्सर समेत गराउन सक्ने बताउनु भयो । उहाँले पाठेघरको मुखको क्यान्सरको शुरुको अवस्थामा धेरै जसोमा लक्षण नदेखिएपनि अन्तिम अवस्थामा मात्र पहिचान हुनसक्ने बताउनु भयो ।

संक्रमण हुँदा पछि गएर तल्लो पेट दुख्ने, अनियमित रुपमा रगत बग्ने, धेरै रगत बग्ने, गन्हाउने पानी बग्ने, कमजोर हुँदै जाने र रक्त अल्पता जस्ता लक्षणहरु देखिने बताउनु भयो । एचपिभि मुख्यतः संक्रमित व्यक्तिसँगको यौन सम्पर्कबाट सर्ने र यो संक्रमित व्यक्तिको यौनाङ्गको छाला श्लेष्म झिल्ली वा तरल पदार्थसँगको सम्पर्कमार्फत पनि सर्नसक्ने डा।गौतमको भनाई छ ।

एचपिभि खोप सेवा उपलब्ध हुने अस्पतालहरूमा कोशी प्रदेशमा कोशी अस्पताल विराटनगर, मधेस प्रदेशमा नारायणी अस्पताल वीरगञ्ज, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल, गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, लुम्बिनी प्रदेशमा भेरी अस्पताल नेपालगञ्ज, कर्णाली प्रदेशमा प्रदेश अस्पताल वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशमा डडेलधुरा अस्पताल डडेलधुरा रहेका छन् । खोपको शुभारम्भ परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथलीबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नतेले गर्ने कार्यक्रम तय भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*