चोरी भएको रकम फिर्ता माग्दा ज्यान मार्ने धम्की दिएको विकको आरोप
मनहरी गाउँपालिका –६ सिस्नेरीपाखा सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष शिवकुमार बि.कले २५ लाख रुपैया हिनामिना गर्ने व्यक्तिले आफुलाई मार्ने धम्की दिएको आरोप लगाउनु भएको छ ।
बिकले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै यस बारे जानकारी दिनुभएको हो । हराएको चेक बन समूहको हेटौंडास्थित राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर–१३००१००००२४६५००१ बाट २०७९ माघ १८ गते हेटौंडामै रहेको कामना सेवा विकास बैंकमा रहेको लालकुमार थिङको खाता नम्बर–४९१४१००५५३८७७०००००१ मा रकम ट्रान्सफर भएको उहाँको आरोप छ ।
मनहरी गाउँपालिका ६ मा रहेको दिदीबहिनी होटलमा खाजा खाने क्रममा उक्त चेक छुटेको र होटलका सञ्चालकले सो चेकको २५ लाख रकम आफ्नो खातामा क्लियरिङ गरेको विकको आरोप छ । बन समूहमा पानीपोखरी बनाएको र अरु काम गरेको खर्च रकम भुक्तानीका लागि बैंकमा जाँदा २५ लाख लालकुमार थिङको खातामा गइसकेको थाहा पाएको उहाँले बताउनु भयो ।
उक्त रकम फिर्ताको लागि अनुरोध गर्दा उल्टै अश्लील शब्द प्रयोग गरी ज्यान मार्ने सम्मको धम्की दिएको बताउनुभयो । उहाँले २५ लाख रकम फिर्ता र आफ्नो जिउधनको सुरक्षा गरिदिन आग्रह गर्नु भएको छ ।







