सामाजिक सुरक्षा कोषमा सरकारले लगानी नगरेको प्रति बागमती प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि

छहारी संवाददाता
भदौ ४, २०८०

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले सामाजिक सुरक्षा कोषमा सरकारले लगानी नगरेको प्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

सोमबार हेटौंडामा आयोजित प्रदेश श्रम तथा रोजगार नीति २०८० सार्वजनिकिकरण तथा अभिमुखीकरण कार्यक्रममा उहाँले सामाजिक सुरक्षा कोषमा सरकारको पनि लगानी आवश्यक रहेको औंल्याउनुभयो । सामाजिक सुरक्षा कोष, बचत कोष जस्तो भएको टिप्पणी गर्दै उहाँले सरकारको लगानी खै भनि प्रश्न गर्नुभयो । आधारभुत वर्गलाई सरकारको लगानी चाहिने उहाँको भनाई छ ।

मुख्यमन्त्री जम्मकट्टेलले, प्रदेश सरकारले रोजगारीको मोडेल परिवर्तन गरी समुदायमा आधारित कृषि उत्पादनको मोडेल तयार गरेर रोजगारीसंग जोड्ने नीति लिएको बताउनुभयो । यसवर्ष १४ करोड रुपैयाँ बजेट छुट्याएको भन्दै उहाँले त्यसमा २० हजार किसानलाई जोड्ने बताउनुभयो ।

प्रदेश श्रम तथा रोजगार नीति २०८० सार्वजनिक गर्दै मुख्यमन्त्री जम्मकट्टेलले सिप सिकेका युवा मात्रै वैदेशीक रोजगारमा जाने वातावरण निर्माणका लागि प्रदेश सरकारले युवाहरुलाई सिप सिकाउने नीति लिएको बताउनुभयो । बागमती प्रदेश सरकारले प्रदेशका पत्रकारहरुका लागि सामाजिक सुरक्षा कोषमा ५० लाख रुपैयाँ लगानी गर्ने तयारी गरेको भन्दै उहाँले योजना ल्याउन आग्रह गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले संविधानको मर्ममा रहेर श्रम तथा रोजगार नीति ल्याएको दाबी गर्नुभयो । श्रमिकलाई बलियो नबनाएसम्म देश बलियो नहुने भन्दै उहाँले उनिहरुलाई स्वदेशमै रोजगारी श्रृजना गर्ने प्रयासहरु पनि भइरहेको बताउनुभयो ।

बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सोमबार हेटौंडामा कार्यक्रमको आयोजना गरी प्रदेश श्रम तथा रोजगार नीति २०८० सार्वजनिकि गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*