हेटौंडामा खाने आलो तामाको व्यापार घट्यो
हेटौंडाका तरकारी तथा फलफूल बजारहरुमा खाने तामाको व्यापार पछील्ला दिनहरुमा निकै घटेको छ । नेपालीको स्वाद र संस्कृतिसँग जुटेको तामाको बजार साउन महिनाको अन्तिम सातामा घटेको हो ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ खोपेगल्ली, हेटौंडा–१ चौकिटोलमा रहेको तरकारीको थाक बजारमा समेत खाने तामाको बिक्री पछील्ला दिनहरुमा घटेको हो । शुभकार्यदेखि पितृकार्यसम्म नेपाली संस्कृतिको प्रतीक बनेको तामा किन्नेको चहलपहल तरकारी बजारमा निकै हुने गरेको भएपनि अहिले भने घटेको खोपेगल्लीका तरकारी व्यापारी मिरा साह बताउनुहुन्छ ।
तामा अमिलो बनाएर र त्यसैपनि तरकारी खानका लागि प्रयोग गरिन्छ । मकवानपुरका दश वटै स्थानीय तह र अरु जिल्लाबाट समेत आयात भएका तामा हेटौंडा र आसपासका क्षेत्रमा बिक्री हुँदै आएको छ । पछील्ला दिनहरुमा तामाको व्यापार घटेको खोपेगल्लीका व्यापारीहरु बताउँछन् । गत वर्ष गाउँको छेउछाउमै सजिलै तामाका टुसा पाइन्थे । अहिले तीनै बाँसका भरयाङ त छन् तर नयाँ मुना पनि कमै पलाएको छ । सबै बाँसबाट तामा उत्पादन हुँदैन ।
तामा निकालिने बाँस अन्य काममा प्रयोग गर्न नमिल्ने किसानहरु बताउँछन् । फोस्रे, ढुङ्ग्रे र चाउ बाँसका तामा स्वादिलो हुन्छ । अरू बाँसको तामा तितो टर्रो हुन्छ । वातावरण विज्ञका अनुसार पनि वर्षा र तामाबिच अन्योन्याश्रित सम्बन्ध हुन्छ । बाँस वा वनस्पतिको जीवनचक्र पनि मौसमी क्यालेन्डरसँग जुटेको हुन्छ । मौसमी अनुकूलता बिथोलियो भने बोटबिरुवाको वृद्धि, विकास र प्रजनन काल पनि प्रभावित हुने हुन्छ। जनपत्र







