बागमती प्रदेशमा फागुन २२ गतेदेखि मतदाता नामावली अद्यावधिक तथा दाबी विरोध प्रक्रिया सुरु हुने
बागमती प्रदेशमा फागुन २२ गतेदेखि मतदाता नामावली अद्यावधिक तथा दाबी विरोध प्रक्रिया सुरु हुने भएको छ ।
निर्वाचन आयोग बागमती प्रदेशले आइतबार एक कार्यक्रम आयोजना गरी फागुन २२ देखि ३० गतेसम्म मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत)को कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिएको हो । यसको लागि फागुन २२ गते कार्यक्रमको सूचना तथा मतदाता नामावली प्रकाशन हुनेछ ।
कार्यालयको सुची अनुसार फागुन २३ देखि २५ गते भित्र प्रकाशित मतदाता नामावलीमा भएको त्रुटि सच्याउन सम्बन्धित प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा निवेदन दिन सकिने, प्रकाशित मतदाता नामावलीमा कसैले झुटा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिन सकिने, प्रकाशित मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा कायम गर्न निवेदन दिन सकिने, एकै स्थानीय तह वा फरक फरक स्थानीय तह वा एकै जिल्ला भित्रको भए प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा र फरक-फरक जिल्ला भए प्रमुख दर्ता अधिकारी मार्फत आयोगमा निवेदन दिन सकिनेछ ।
यस्तै कार्यालयले फागुन २३ गतेदेखि २५ गतेसम्म प्रकाशित मतदाता नामावलीमा मृत्यु भएका वा नागरिकता त्याग गरेका वा नागरिकता रद्ध भएका मतदाताको नाम नामावलीबाट हटाउनको लागि सूचना दिने जनाएको छ । २३ गतेदेखि २६ गतेसम्म बसाइसरी अन्यन्त्र गएका वा मृत्यु भएका वा नागरिकता त्याग गरेका वा रद्ध भएका मतदाताको विवरण स्थानीय पञ्जिकाधिकारीबाट प्राप्त लिने , २३ देखि २७ गतेसम्म नामावलीमा उजुरी परेको मतदातालाई प्रमाणसहित सफाइको मौका दिने सुचीमा उल्लेख छ ।
यस्तै २७ गतेसम्म प्राप्त सूचना र स्थानीय पञ्जिकाधिकारीबाट प्राप्त विवरणको आधारमा बसाइ सरी अयन्त्र गएका वा मृत्यु भएका मतदाताको हकमा जाँचबुझ गरी प्रमुख दर्ता अधिकारीले हटाउने निर्णय गर्ने, नागरिकता त्याग गरेका वा नागरिकता रद्ध भएका मतदाताको नाम मतदाता नामावलीबाट हटाउने सम्बन्धमा आवश्यक छानविन गरी प्रमुख नाम दर्ता अधिकारीले हटाउने निर्णय गर्नेछ ।
प्रदेश निर्वाचन कार्यालयबाट फागुन २६ देखि ३० गतेसम्म सूचना निवेदन प्राप्त नभएता पनि कुनै मतदाता बसाई सरी गएको, मृत्यु भएको, नागरिकता त्याग वा रद्ध भएको व्यहोरा प्रमाणित हुन आएमा त्यस्तो मतदाताको नाम नामावलीबाट हटाउने, उजुरी र सम्बन्धित मतदाताले दिएको सफाईका आधारमा उक्त मतदाताको नामावलीबाट नाम हटाउने वा राख्ने सम्बन्धमा प्रमुख नाम दर्ता अधिकारीले निर्णय गर्ने, परको निवेदन बमोजिम जाँचबुझ गरी प्रमुख नाम दर्ता अधिकारीले त्रुटि सच्याउने कार्यालयको सुचीमा उल्लेख छ ।
यस्तै कार्यालयले फागुन ३० देखि चैत्र १ गते भित्र मतदाता नामावलीमा भएको त्रुटि सच्याइएको र नामावलीमा परेको उजुरी, बसाई सरी आएका र गएका, मृत्यु भएका, नागरिकता रद्ध भएका मतदाताहरुको हकमा नामावली हटाइएको सूचना निर्वाचन कार्यालयमा प्रकाशित गर्ने र फरक फरक जिल्लामा दोहोरो नाम परेको सम्बन्धमा निवेदन प्राप्त भए सोको छुट्टै विवरण तयार गरी जिल्लामा अद्यावधिक भएको डाटासंगै आयोगमा पठाउने उल्लेख छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा भएको छलफल कार्यक्रममा निमित्त जिसस प्रमुख सुनिता गजुरेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख बामदेव गौतम, सशस्त्र प्रहरी नायब उपरीक्षक रमेश कुमार गुरुङ, प्रदेश निर्वाचन कार्यालय प्रमुख लुम्बनाथ पोखरेल, नेकपा एमालेका मदनकुमार दाहाल, नेपाल मजदुर किसान पार्टीका दिपेन्द्र श्रेष्ठ, राप्रपाका विजय सिंह ठकुरी लगायतको उपस्थिती रहेको थियो ।







