घैराङ्गको विद्यालयलाई रोटरी क्लब अफ मकवनपुर द्वारा शैक्षिक सामग्री सहयोग
रोटरी क्लब अफ मकवनपुरले कैलाश गाउपालिका ९ घैराङ्गको श्री जीवन ज्योति प्राथमिक विद्यालयमा लताकपडा तथा शैक्षिक सामग्री सहयोग गरेको छ। शनिबार एक कार्यक्रमका बीच कक्षा १ देखि ५ सम्मका १२३ जना विद्यार्थीहरुलाइ लत्ताकपडा (ट्र्याक सुट) तथा झोला, किताब, कपि, पेन्सिल लगायतका सामग्री हस्तान्तरण गरिएको हो।
कार्यक्रममा बोल्दै अध्यक्ष कृष्ण बहादुर कार्किले घैराङ्ग गाउँको अवश्था ३२ वर्ष अगाडि जस्तै नै पाएको भन्दै परिवर्तनका लागि सहकार्य गर्ने बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष भुवन सिंह घलानले भूगोलको हिसाबले एउटा भेगनै छुट्टीएर बसेको र पछाडी परेको यो गाउँको बिद्यालयलाइ सहयोग गरेकोमा रोटरी क्लबलाई धन्यवाद दिनुभयो । उहाँले आगामी दिनमा पनि पिछडिएको यस घैराङ्ग गाउमा भौतिक विकासमा पनि सहयोगको लागि अपेक्षा रहेको बताउनुभयो ।
श्री जीवन ज्योति प्राथमिक बिद्यालयको प्रधानाध्यापक सिताराम रुम्बाले बिद्यालयलाइ सहयोग गर्न प्रस्ताव राखेको एक हप्ता मै घण्टौ हिडेर सहयोगको लागि पुगेकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि सहकार्यको अपेक्षा रहेको बताउनुभयो । रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा ९ नम्बर वडाका अध्यक्ष घलानको प्रमुख आतिथ्यता रहेको थियो।
त्यस्तै रोटरी अफ क्लबका पुर्व अध्यक्ष ज्ञानकृष्ण प्रजापति, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष डबल बहादुर गोले, रोट्र्याक्ट क्लब अफ मकवानपुरका अध्यक्ष प्रदिप कुमार राइ र रोटरी क्लब अफ मकवानपुरका सदस्यहरुको उपस्थित रहेको थियो। विश्व सिंह रुम्बाको संयोजकत्वमा भएको कार्यक्रममा एक लाख तीस हजार बराबरको लत्ताकपडा र शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो।







