भाषा सुधारको लागि बिद्यालयको तल्लो तहबाटै ध्यान दिनुपर्छः जिसस प्रमुख घलान

छहारी संवाददाता
फाल्गुन ११, २०७९

बिद्यालय स्तरमा बालबालिकाको भाषा सुधारको लागि तल्लो (ईसिडी) तहबाटै सुधार गर्न जोड दिनुपर्ने जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले बताउनुभयो ।

बिहिबार जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा विद्यालय स्तरमा भाषा सुधार प्रशिक्षण तथा छलफल एक दिवसीय कार्यक्रममा प्रमुख घलानले उक्त कुरा बताउनु भएको हो । अहिले राज्यका तीनै तहका सरकारले भौतिक पूर्वाधार निर्माण क्षेत्रहरूमा मात्रै बजेट विनियोजन गर्ने गरेको स्मरण गराउदै अब देखि शिक्षा क्षेत्रको तल्लो तहलाई पनि विशेष प्राथमिकतामा राखी बजेट विनियोजनको लागि सुझाउनु भयो ।

भाषा सिकाइलाई प्रभाकारी बनाउन विद्यालयको तल्लो तहबाटै शुद्ध बोल्न सही अभ्यास गराएमा मात्रै बालबालिकाले पछिसम्म शुद्ध बोल्न सक्ने मकवानपुरका शिक्षा विकास समन्वय इकाइ प्रमुख दिनानाथ गौतम र नेपाली भाषा विज्ञ तथा प्रशिक्षक निमेष निखिलले साझा धारणा व्यक्त गर्नु भयो । अहिले विद्यालय तहमा भाषा सिकाइका सीपहरू सिकाइ पनि उल्टोबाट हुने गरेको तथ्य फेला पारेको जिकिर गर्दै यसको सुधारमा ध्यानदिन जरूरी भएको बताउनु भयो ।

शिक्षण सिकाइ प्रभावकारी हुन बालबालिकाको चाहना, भावना अनुरूप हुनुपर्ने नेल्टा मकवानपुरका उपाध्यक्ष उत्तम अर्यालले बिचार राख्नु भयो । बालबालिकाको भाषा सुधारका सुधारका लागि विशेष गरी विद्यालय तहको ईसीडी कक्षाबाटै सुधार गर्नुपर्ने जरूरी भएको महसुस गर्दै कार्यक्रम आयोजना गरेको जिल्ला समन्वय समितिको निमित्त समन्वय अधिकारी सुनिता कुमारी गजुरेलले बताउनुभयो ।

जिल्ला समन्वय समिति प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा भएको प्रशिक्षण कार्यक्रम उपप्रमुख सानुकाजी लुँइटेलको सभाध्यक्षतामा सम्पन्न भएको थियो। जिल्ला समन्वय समितिको सभा हलमा भएको उक्त कार्यक्रममा मकवानपुरका दश स्थानीय तहका शिक्षा प्रमुख र प्रत्येक स्थानीय तहबाट ३/३ जना ईसीडी शिक्षकहरू लगायत विभिन्न सरोकारवाला संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा शिक्षा विकास समन्वय इकाइ मकवानपुर प्रमुख दिनानाथ गौतम, जिल्ला समन्वय समितिको निमित्त समन्वय अधिकारीसुनिता कुमारी गजुरेल, नेपाली भाषा विज्ञ निमेष निखिल, अबिभाबक संघ मकवानपुरको पूर्व अध्यक्ष ध्रुबप्रसाद चौलागाईं , नेल्टा मकवानपुरका उपाध्यक्ष उत्तम अर्याल, जिल्ला युवा समितिको अध्यक्ष शिवहरी दाहाल, लगायत जिल्ला समन्वय समितिको सदस्यहरुको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*