किसानको उत्पादनको बजार व्यवस्थापन सरकारले गर्नुपर्छः प्रदेश प्रमुख शर्मा
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले किसानका उत्पादनको बजार व्यवस्थापन सरकारले गरिदिनुपर्ने बताउनुभएको छ ।
बिहीबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले परम्परागत निर्वाहमुखी कृषि प्रणालीलाई आधुनिक व्यवसायिक कृषि प्राणालीमा रुपान्तरण गर्न आवश्यक रहेको बताउनुभयो । कृषि क्षेत्रमा योजना तर्जुंमा गर्न बिलम्ब गर्नु नुहनेमा उहाँको जोड थियो । उन्नत किसिमका मल बीउ र प्रविधि उपलब्ध गराउने किसानमैत्री नीति निर्माण आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।
किसानका उत्पादन विक्रि नभएर सडकमा फाल्नु पर्ने कहालिलाग्दो घटना हुन नदिन प्रदेश सरकार सचेत रहनुपर्ने बताउनुभयो । कृषकले निर्धक्क भएर उत्पादन गर्ने र सरकारले बजार व्यवस्थापन गर्नुपर्ने आवश्यता औंल्याउनुभयो । प्रदेश प्रमुख शर्माले हेटौडा वरिपरिका सम्भावित क्षेत्रहरुमा मरिच खेती गर्न सकिने बताउनुभयो ।
प्रदेश सरकारले ठूला जलविद्युत आयोजना, नमूना कृषि फर्म, प्राविधिक शिक्षालय र उद्योगहरुको स्थापनामा बजेट विनियोजना गर्न सके मात्र रोजगारीका अवसरहरु सिर्जना हुने प्रदेश प्रमुख शर्माले स्पष्ट पार्नुभयो । प्रदेश सरकारप्रति जनताको आशा र भरोसालाई कमी आउन दिन नहुने बताउँदै प्रदेश प्रमुख शर्माले जनमुखी सरकारको अवधारणा अनुरुप प्रदेश सरकार सँधै सचेत र क्रियाशिल हुनु आवश्यक रहेको बताउनुभयो ।







