समाज निर्माणका लागि पत्रकारको भूमीका महत्वपूर्णः छिन्तु
बागमती प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी छिन्तुले समाज निर्माणका लागि पत्रकारको भूमीका महत्वपूर्ण हुने बताउनुभयो । प्रेस सेन्टर नेपाल, मकवानपुरले १९ औं स्थापना दिवसका अवसरमा आयोजना गरिएको जनपक्षीय पत्रकारिता र वर्तमान अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बेल्दै प्रदेश सभा सदस्य पुलामीले समाजमा सकारात्मक परिवर्तन आउने गरि पत्रकारले कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।
देशमा स्थायित्व कायम राख्न जनपक्षीय पत्रकारिता आवश्यक रहेको उहाँले बताउनुभयो । राज्य व्यवस्था परिवर्तनमा पत्रकारको भूमीका विशेष रहेको स्मरण गर्नुभयो ।
कार्यक्रमममा वरिष्ठ पत्रकार प्रताव विष्टले अहिलेको पत्रकारिता जनपक्ष हुन नसकेको बताउनुभयो । पत्रकारले निष्पक्ष भएर कलम चलाउन पर्नेमा त्यसो हुन नसकेको विष्टको ठम्याई छ । पत्रकारिता आवाजबिहिनहरुको आवाज बन्नपर्ने उहाँले उल्लेख गर्नुभयो ।
अन्तरक्रियामा सहभागि अधिकांश पत्रकारले पछिल्लो समय पत्रकारिता पेशा मर्यादित बन्न नसकेकोमा चिन्ता व्यक्त गरेका थिए ।
कार्यक्रममा जिल्ल समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, पत्रकार महासंघका केन्द्रिय सदस्य सुनिल खड्का, पत्रकार महासंघ बागमती उपाध्यक्ष रुपेश दुलाल प्रेस चौतारी मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, प्रेस युनियन मकवानपुर अध्यक्ष कुमार अधिकारी लगायतको आतिथ्यता रहेको थियो । प्रेस सेन्टर मकवानपुर शाखाकी अध्यक्ष अञ्जली थापाको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।







