दोस्रो कार्यकालको पहिलो बैठक आज बस्दै
बागमती प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक आज बस्दैछ । दिउँसो १ बजे ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाको अध्यक्षतामा पहिलो बैठक बस्नेछ ।
प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभाको पहिलो बैठक आजको लागि आह्वान गर्नु भएको थियो । यसअघि विहान बसेको सर्वदलीय बैठकले आजको बैठकमा प्रस्तुत हुने सम्भावित कार्यसूची तयार पारेको छ ।
प्रदेशसभा सचिवालयका सचिव कृष्ण हरी खड्काका अनुसार आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्ने, प्रदेश सभा नियमावली अनुमोदन गर्ने, अधिवेशन सफलताको शुभकामना दिने लगायतका कार्यसूची छ । पहिलो बैठक बसेको १५ दिन भित्रमा सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।







