बागमती गाऊँपालिकामा ३० जनालाई जग्गाधनी पुर्जा वितरण
मकवानपुरको बागमती गाऊँपालिकामा ३० जना भुमिहिन सुकुम्बासीलाई जग्गाधनी पुर्जा बितरण गरिएको छ ।
गाऊँपालिकाको अनुसार गाऊँपालिकाले ५ हजार पुर्जा वितरणको तयारी अन्तिम चरणमा पुर्याएको भएपनी दोस्रो चरणमा ३० जनालाई मात्र पुर्जा वितरण गरेको हो । बागमती गाऊँपालिकाले चार नम्बर वडाको २८ जना र ५ नम्बर वडाको २ जना भुमिहिन सुकुम्बासीलाई जग्गाधनीपुर्जा वितरण गरेको जनाएको छ ।
बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले जग्गाधनीपुर्जा वितरण गर्दै जनयुद्धकालमा जनताले माग गरेका र देखेको सपना भएको बताउनुभयो । जनताले आफुले खनिखोस्री गरेको जग्गापनि आफ्नो भन्न नपाएकोमा दुःख लाग्ने गरेको उहाँको भनाई छ ।
यो समस्या बागमती गाऊँपालिकाको मात्र नभएर अरु पालिकाको पनि भएकोले तालुक अड्डाहरुले यथासिघ्र काम गर्न समेत उहाँले सुझाउनुभयो ।
बागमती प्रदेशका सांसद प्रेम बहादुर पुलामीले मकवानपुरको बागमतीदेखी मनहरीसम्मको समस्या नै जग्गाधनी पुर्जाको रहेको बताउदै अब भने उक्त समस्या समाधान हुँदै जाने बताउनुभयो । स्थानिय सरकार देखी संघसम्मको सहकार्यको परिणामले पुर्जा बितरण सहज भएको उहाँको भनाई छ ।
जनताले चुनावमा गरेको मागको पुरा गर्नको लागि अहारात्र खटिएको भन्दै उहाँले स्थानिय सरकारलाई धन्यबाद समेत दिनुभयो । कार्यक्रममा गाऊँपालिकाका अध्यक्ष सर्केश घलानले पालिकामा १० हजार दलित, भुमिहिन सुकुम्बासी र अब्यबस्थित बसोबास रहेको बताउदै करिब ५ हजारको भने लगत संकलन गरी अन्तिमचरणको काम भैरहेको जानकारी दिनुभयो ।







