जनकपुरधामले धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेको छः सहरी विकामन्त्री चौधरी
सहरी विकासमन्त्री मेटमणि चौधरीले धार्मिक एवं सांस्कृतिक धरोहर जनकपुरधामले धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेको बताउनु भएको छ ।
जलेश्वर–जनकपुर–धनुषाधाम धार्मिक पर्यटकीय कोरिडोरमा पर्ने मठ, मन्दिर सौन्दर्यीकरणको लागि पूर्वाधार निर्माण आयोजनाको शिलान्यासपछि आयोजित सभामा बोल्दै मन्त्री चौधरीले जनकपुरधाम नेपालमा मात्र नभई विश्वमै परिचित स्थल रहेको बताउनुभयो ।
मन्त्री चौधरीले सहरी मन्त्रालयले यस क्षेत्रको विकासमा कुनै कसर बाँकी नराख्ने बताउँदै काममा जुट्न र निर्धारित समयमै काम सक्न निर्देशन दिनुभयो । उहाँले बजेटको निरन्तर व्यवस्था मिलाउने भन्दै बजेट अभावका कारण आयोजना रोकिने स्थिति नआउने बचन दिनुभयो ।
गुणस्तरीयतामा कमि आउन नदिन तथा निरन्तर आयोजनाहरुको निगरानी गर्न समेत निर्देशन दिनुभयो ।
यस आयोजना अन्तर्गत जलेश्वर–२, मा सांस्कृतिक सामुदायिक भवनको स्तरोन्नती, बोधिमाई मन्दिर परिसरमा घाट निर्माण, ट्रयाक स्तरोन्नती, जनकपुरधाम स्थित रामजानकी कुट्टीमा रहेको सांस्कृतिक भवन स्तरोन्नती, जनकपुरधाम–४ मा मिथिला परिक्रमा विश्राम भवन निर्माण, मिथिला बिहारी नगरपालिका कचुरीमा सांस्कृतिक भवन तथा विवाह मण्डप निर्माण, धनुषाधाम मन्दिर परिसरमा रहेको सांस्कृतिक भवनको स्तरोन्नती लगायतका योजनाहरु रहेका छन् ।
आयोजनाको कुल अनुमानित लागत १० करोड रहेको छ । त्यसैगरि सहरी मन्त्री चौधरीले जनकपुरधाम उपमहानगरपालिकामा सडक तथा नाला निर्माण कार्यक्रम अन्तर्गत दुर्गाचोक–रेल्वे ट्रयाक सडक खण्डमा सहरी सडक तथा नाला स्तरोन्नती कार्यको पनि शिलान्यास गरेका छन् ।
जस अन्तर्गत २.२ कि. मि. लम्बाईमा १६ मि. चौडा सहरी सडकको मापदण्ड अनुसार साइकल लेन, फुटपाथको व्यवस्था हुनेछ । दुवैतर्फ विरुवा रोपेर हरियाली कायम गरिने जनाइएकोछ । यस आयोजनाको अनुमानित लागत रु २० करोड रहेको छ ।







