मनहरी गाउँपालिकाद्वारा एक सय दिनमा सम्पादन भएका कार्यहरु सार्वजनिक
मनहरी गाउँपालिकाले एक सय दिनमा सम्पादन भएका कार्यहरु सार्वजनिक गरेको छ । स्थानीय सदस्य निर्वाचनमा निर्वाचित भइ सपथ लिएको मिति देखि हालसम्मको सय दिनको अवधिमा सम्पादन भएका कार्यहरु सार्वजनिक गरेको हो । पत्रकार सम्मेलन गर्दै १८ बुँदामा सार्वजनिक गरिएको प्रतिवेदनमा स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रमा भएका कार्यलाई प्रमुख उपलब्धिको रुपमा राखिएको छ ।
गाउँपालिकाले यस अवधिमा ९ वटा बैठक बसेर ७० वटा निर्णय गरेको जनाएको छ । एक सय दिनको प्रगति प्रतिवेदन सार्वजनिक गर्र्दै अध्यक्ष रन्जन कालाखेतीले निर्वाचनमा जनता माझ गरेका प्रतिबद्धता पूरा गर्दै जाने बताउनुभयो । मनहरी अस्पतालको अस्थायी भवन निर्माण सम्पन्न भई भदौ १ गतेदेखि ओपिडि सेवा बिस्तार, हाँडिखोला स्वास्थ्य चौकीमा निःशुल्क भिडियो एक्सरे सेवा सञ्चालन गरिनुलाई गाउँपालिकाले प्रमुख उपलब्धीको रुपमा लिएको छ । यस्तै पालिकाले सामुदायिक आँखा अस्पताल हेटौंडासँगको सहकार्यमा गाउँपालिकामा नै आँखा जाँच र मोतिबिन्दुका बिरामीको निशुल्क उपचारको व्यवस्था मिलाएको छ ।

आर्थिक अवस्था कमजोर भएका २१ जनाको गाउँपालिकाले चालु आवमा निः शुल्क उपचार गरिदिएको छ । हावाहुरीबाट पूर्ण क्षेति भएका ५० घरपरिवारलाई रु १० लाख आर्थिक सहायता प्रदान गरेको छ । नेपाल सरकार र गाउँपालिकाको ५० प्रतिशत र कृषकको ५० प्रतिशत लगानीमा १ करोड ५ लाख बराबरको १४ किसिमका कृषि औजार कृषकलाई वितरण गरेको छ ।
साथै गाउँपालिकाले यसै आर्थिक वर्षको बजेटमा वडा नं. ३मा कोल्ड स्टोर सञ्चालनका लागि १ करोड ६६ लाख ५० हजार विनियोजन गरेको छ । पशु सेवा सम्बद्ध कार्यक्रमको लागि १ करोड १५ लाख छुट्टाइएको अध्यक्ष कालाखेतीले बताउनुभयो ।
गाउँपालिकाले यो अवधिमा ५ करोड ३६ लाख २४ हजार रुपैयाँ बेरुजु रकम सम्परीक्षण गरी घटाएको छ । गाउँसभाको ११ औं अधिवेशनले लेखा समिति नै गठन गरेर वेरुजु घटाउने काम सुरु गरिएको अध्यक्ष कालाखेतीले बताउनुभयो । लेखा समितिले थप ६ करोड १७ लाख ८५ हजार ५३४ रुपैयाँ नियमित गराएर सम्परीक्षणका लागि महालेखा परीक्षकको कार्यालयमा पेश गर्ने चरणमा रहेको बताउनुभयो । गाउँपालिकाले यसअवधिमा ३ लाख ५७ हजार रुपैयाँ बेरुजु असुल गरेको छ ।
तत्कालका लागि शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको अध्यक्ष कालाखेतीले बताउनुभयो । उहाँले कानुनत प्राप्त गर्ने सुविधाहरु एकमुष्ट जम्मा गरि विपन्न नागरिकको शिक्षा स्वास्थ्यमा खर्च गर्ने योजना रहेको बताउनुभयो ।







