पत्रकार भुसाल ‘टान पत्रकारिता पुरस्कार २०२२’ बाट सम्मानित
पत्रकार टी.पी. भुसाल ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले प्रदान गर्ने ‘टान पत्रकारिता पुरस्कार २०२२’ बाट सम्मानित हुनु भएको छ ।
पत्रकारितामार्फत पर्यटन क्षेत्रको प्रवर्धनमा टेवा पुर्याएको भन्दै टानले भुसाललाई सम्मान गरेको हो । काठमाण्डौंमा आयोजित टानको ४२ औं,४३ औं र ४४ औं वार्षिक साधारणसभाको अवसरमा संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले पत्रकार भुसाललाई उक्त अर्वाड प्रदान गर्नु भएको थियो ।
नेपाली रेडियो नेटवर्कको अर्थसम्वाद कार्यक्रमका सञ्चालक भुसालले खासगरी कोभिड–१९ पछि नेपाली पर्यटन क्षेत्रले भोग्नु परेका विविध समस्या तथा पर्यटनका अन्य विषयमा सरोकारवालासँग निरन्तर सम्वाद गर्दै आउनुभएको थियो । नेपाल पर्यटन बोर्डका सञ्चार परामर्शदाता तथा विभिन्न कलेजमा प्राध्यापन समेत गर्दै आउनुभएका भुसालले नेपालको समग्र पर्यटन उद्योग तथा पर्यटन क्षेत्रको नीतिगत विषयमा निरन्तर कलम चलाउँदै आउनु भएको छ ।
टानको वार्षिक उत्सवको अवसरमा भुसाल सहित नेपाल टेलिभिजनका आर्थिक ब्युरो चिफ प्रदीप चापागाईं, न्युज एजेन्सी नेपालका प्रवन्ध निर्देशक सविन धमला, क्यापिटल नेपाल डटकम र क्यापिटल बिजनेस म्यागजिनका संवाददाता सुवास योञ्जन, राष्ट्रिय समाचार समितिका सम्वाददाता अच्युत रेग्मी, कर्पोरेट नेपालका संवाददाता फुर्पा शेर्पा लगायतका सञ्चारकर्मीलाई सम्मान गरिएको थियो ।







