देशका धेरै ठाउँमा सामान्यदेखि मध्यम वर्षा, दिउँसो केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान

देशका विभिन्न चार ठाउँमा खतराको तहभन्दा धेरै वर्षा
छहारी संवाददाता
१६ श्रावण २०७९, सोमबार ०९:४४

आज बिहानैदेखि देशका धेरै ठाउँमा सामान्यदेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो पनि देशभर मौसम बदली भई वर्षा जारी रहने छ भने केही ठाउँमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । भारी वर्षाका कारण बाढीपहिरोको जोखिम रहेको र केही ठाउँमा चट्याङसहित वर्षा हुने भएकोले सतर्क रहन महाशाखाले सूचना जारी गरेको छ ।

यसैबीच कास्कीमा एक दिनमै सबैभन्दा बढी ३२२.८ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यहाँ १२ घण्टामै ३१३ मिलिमिटर पानी परेको विभागले जनाएको छ । जबकि २४ घण्टामा १४० मिलिमिटर र १२ घण्टामा १२० मिलिमिटरभन्दा धेरै पानी पर्नुलाई खतरा मानिन्छ ।

विभागका अनुसार चितवन, सुनसरी र झापामा पनि खतराको तहभन्दा धेरै वर्षा भएको छ । चितवनको शक्तिखोरमा २४ घण्टामा १९५.६ र १२ घण्टामा १८२.६ मिलिमिटर, इटहरीको तरहरामा २४ घण्टामा १७२ मिलिमिटर र झापाको दमकमा १२ घण्टामा १२०.४ मिलिमिटर वर्षा मापन भएको छ । साभारः अनलाइन खबर ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*