देशका धेरै ठाउँमा सामान्यदेखि मध्यम वर्षा, दिउँसो केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान

देशका विभिन्न चार ठाउँमा खतराको तहभन्दा धेरै वर्षा
छहारी संवाददाता
साउन १६, २०७९

आज बिहानैदेखि देशका धेरै ठाउँमा सामान्यदेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो पनि देशभर मौसम बदली भई वर्षा जारी रहने छ भने केही ठाउँमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । भारी वर्षाका कारण बाढीपहिरोको जोखिम रहेको र केही ठाउँमा चट्याङसहित वर्षा हुने भएकोले सतर्क रहन महाशाखाले सूचना जारी गरेको छ ।

यसैबीच कास्कीमा एक दिनमै सबैभन्दा बढी ३२२.८ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यहाँ १२ घण्टामै ३१३ मिलिमिटर पानी परेको विभागले जनाएको छ । जबकि २४ घण्टामा १४० मिलिमिटर र १२ घण्टामा १२० मिलिमिटरभन्दा धेरै पानी पर्नुलाई खतरा मानिन्छ ।

विभागका अनुसार चितवन, सुनसरी र झापामा पनि खतराको तहभन्दा धेरै वर्षा भएको छ । चितवनको शक्तिखोरमा २४ घण्टामा १९५.६ र १२ घण्टामा १८२.६ मिलिमिटर, इटहरीको तरहरामा २४ घण्टामा १७२ मिलिमिटर र झापाको दमकमा १२ घण्टामा १२०.४ मिलिमिटर वर्षा मापन भएको छ । साभारः अनलाइन खबर ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*