आज साउनको १५ गते, खिर खाएर मनाइँदै
आज साउनको १५ गते, खिर खाएर मनाइँदै छ ।
धार्मिक महत्त्व नभए पनि सांस्कृतिक रुपमा मनाउने गरिएको छ । एक महिनाअघि असार १५ गते दही चिउरा खाए जस्तै साउनको १५ मा खिर खाने चलन छ । असार १५ मा दही चिउरा खाँदै रोपाइँ गरेका किसानले असारको व्यस्तताबाट केही राहत मिलेपछि साउन १५ मा खिर खाने गर्दछन् ।
वर्षाको झरीमा भिजेकाे शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खिर खाने गरिएको बताइन्छ । असार महिनाभरि हिलोमा काम गर्दा चिसो लाग्ने र तातो खिर खाँदा चिसोबाट जोगिने जनविश्वास छ । परापूर्वककालदेखि नै पुर्खाहरुले मौसम अनुसार श्रम र मानव स्वास्थ्यलाई सन्तुलनमा राख्न यस प्रकारको भोजनलाई चलनचल्तीमा ल्याएका हुन् ।
नेपाल डेरी एसोसिएशनका अनुसार अघिपछिको तुलनामा आज झन्डै ५ गुणाभन्दा बढी दूध खपत हुन्छ । आज झन्डै ५० लाख लिटर दूध बिक्री हुने र यसबाट झन्डै ५० करोड रुपैयाँ बराबर कारोबार हुने एसोसिएशनले जनाएको छ । साभारः उज्यालो अनलाइन ।







