गणेशमान मार्ग स्तरोन्नति तथा कालोपत्रेका लागि दुई पालिका प्रमुख सहितको समिती निर्माण
थानकोट चित्लाङ(गणेशमान मार्ग) को स्तरोन्नति तथा कालोपत्रे गर्न दुई पालिका प्रमुख सहितको समिती निर्माण गरी अघि बढ्ने सहमती भएको छ।
थाहा नगरपालिका र चन्द्रागिरी नगरपालिका बिच यस्तो सहमती भएको हो । चन्द्रागिरी नगरपालिका ४ का अध्यक्ष कृष्ण प्रसाद खड्गी र थाहा नगरपालिका ९ का अध्यक्ष राजकुमार बलामीलाई सडक निर्माण कार्य हेर्ने समिती बनाएर लाने सहमती भएको छ ।
यस्तै सडकको नयाँ डिपिआरको लागि भौतिक योजना मन्त्रालय तथा सडक बिभागमा जाने र बजेट मागको लागि प्रधानमन्त्री कार्यालयमा जाने निर्णय गरीएको थाहा नगरबाट छलफलमा सहभागी ईन्द्र श्रेष्ठले बताउनुभयो।
श्रेष्ठका अनुसार यसपालिको बजेट जम्मा तीन करोड रुपैयाँ मात्र भएकोले तेति मात्र बजेटले खासै काम र सडकको प्रगति हुन नसक्ने ठहर गर्दै पुरानो डिपिआर बाट नयाँ बजेट र योजना बनाउन नसकिने हुँदा पुरानो डिपिआर लाई रिभ्यु गरेर नया योजनाका साथ सम्बन्धित निकाय र मन्त्रालयमा बजेट सुनिश्चितताको लागि आवश्यक कदम चाल्न दुवै पालिका प्रमुख सहमत भएको बताउनुभयो ।
दुई पालिका बिच भएको छलफलमा थाहा नगरका प्रमुख बिष्णु बिष्ट ,चन्द्रागिरीका नगर प्रमुख घनश्याम गिरी,राष्ट्रिय सभाका निवर्तमान सदस्य रामनारायण बिडारी, बिष्णुहरी ढकाल जंगली, थाहा ९ का अध्यक्ष राजकुमार बलामी, माओवादी केन्द्र बागमती प्रदेश सदस्य इन्द्र बहादुर श्रेष्ठको सहभागीता रहेको थियो।







