हेटौंडामा कोठा भाडामा लिएर अनलाइन जुवा खेल्ने १२ जना पक्राउ
हेटौंडामा कोठा भाडामा लिएर अनलाइन जुवा खेल्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज पत्रकार सम्मेलन गर्दै अनलाइन जुवा खेल्ने १२ जनालाई सार्वजनिक समेत गरेको छ । अनलाइन जुवा खेल्ने गरेको सुराकीका आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले बताउनुभयो ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित कमलडाँडामा रुकमणि न्यौपानेको घरको तेस्रो र चौथो तलामा अनलाइन जुवा खेलीरहेको समयमा प्रहरीले पक्राउ गरेको हो । पैसाको हारजित हुनेगरी खेलीरहेको अवस्थामा पक्राउ गरिएको कार्कीले बताउनुभयो ।
भाडामा लिएर सूर्य प्रसाद टेक्नोलोजी प्राइभेट लिमिटेड नामक कम्पनी सञ्चालन गरेर स्थानीय कुलदिप पाठकले कोठा भाडामा लिएर अनलाइन जुवा खेलाउने १२ जना युवालाई पक्राउ गरेको उहाँले बताउनुभयो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले हेटौंडा–९ लामसुरे बस्ने २३ वर्षीय निसान आचार्यसहित १२ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले प्रहरीले उनीहरुको साथबाट अनलाइन जुवा खेल्न प्रयोग भएका विभिन्न कम्पनीका १ सय १०थान मोबाइल, ३ थान ल्याप्टप, ५ थान कम्युटर र नगद १ लाख ४५ हजार ७५ रुपैयाँ बरामद गरेको छ ।
प्रहरीले पाठकसँगै हेटौंडा–९ लामसुरे बस्ने २३ वर्षीय निसान आचार्य, हेटौंडा–४, कमलडाँडाकै २४ वर्षीय राजीव गौतम, हेटौंडा–१४ चुरियामाईका २४ वर्षीय निमा थिङ, हेटौंडा–१२, पदमपोखरीका २३ वर्षीय विकास बल, मनहरी–४, मसिनेका २० वर्षीय जोसिल खत्री, गोरखा पालुङटार–७ का २२ वर्षीय डुलास तामाङ, २१ वर्षीय तिकमान तामाङ, अमोश तामाङ र बारा निजगढ–४ का २० वर्षीय अर्पण खड्कालाई पक्राउ गरेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले बताउनुभयो ।







