जिप दुर्घटनामा एकै परिवारका ३ जनाको मृत्यु
इलाममा भएको जिप दुर्घटनामा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । पाँचथरको रविबाट झापातर्फ जाँदै गरेको जिप आइतबार दिउँसो मिक्लाजुङ–२ दहगाउँमा सडकबाट २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा इलामको मिक्लाजुङ गाउँपालिका–५ का ६५ वर्षका हिमप्रसाद लावती, उहाँकी श्रीमती ६० वर्षकी पदमकुमारी लावती र ज्वाइँ इलामको माङ्सेबुङ गाउँपालिका-६ का ५० वर्षका जयराम राईको मृत्यु भएको हो ।
हिमप्रसाद र जयरामको घटनास्थलमै मृत्यु भएको हो भने पदमकुमारीको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । जिपका चालक अनुप राई भने सामान्य घाइते छन् । चिप्लो सडकमा जिप अनियन्त्रित भएर पल्टिएको प्रहरीले अनुमान गरेको छ ।







