वार्षिक साढे तीन खर्बको खाद्यवस्तु आयात गरेर देश बनाउन सकिदैनः अर्थमन्त्री शर्मा

छहारी संवाददाता
असार ६, २०७९

अर्थमन्त्री जनार्दन शर्माले कृषिप्रधान देशले वार्षिक साढे तीन खर्ब रुपैयाँको खाद्यवस्तु आयात गरेर देश बनाउन नसक्ने बताउनुभएको छ ।

आज सोमवार प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले देशमा साढे तीन खर्ब रुपैयाँको खाद्यवस्तु आयात गरेर देश बनाउन नसकिने भएकाले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम देशको उत्पादनलाई प्राथमिकता दिने गरेर आएको बताउनुभयो ।

मन्त्री शर्माले सरकारी कार्यालयहरूमा विदेशी आयातित वस्तुभन्दा देशभित्र नै उत्पादन भएको वस्तु प्रयोग गर्नुपर्ने नीति आएको बताउनुभयो । उहाँले सरकारी कार्यालयहरूका विभिन्न बैठकमा नेपाली बिस्कुट नै प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘सरकारी कार्यालयहरूमा नेपाली बिस्कुट मात्रै खाने नीति बनाएका छौँ । हामी विदेशी बिस्कुट खाइरहेका हुन्छौँ, अबदेखि नेपाली बिस्कुट नै खानुपर्ने भन्ने कुरा गरिएको छ ।

अर्थ मन्त्री शर्माले पेट्रालियम पदार्थमा बढेको मूल्यवृद्धि सरकारले गरेको नभइ अन्तर्राष्ट्रिय मूल्य शृङ्खलामा आएको समस्या र अन्तर्राष्ट्रियस्तरमा भएका युद्धहरूको प्रभावका कारण भएको बताउनुभयो । खाने तेलको मूल्य पनि अन्तर्राष्ट्रिय घटनाहरूको प्रभावका कारण बढेको बताउनुभयो । उहाँले नेपालमा तोरी युक्रेन र रसियाबाट नै आउने भएकाले कच्चा पदार्थ आयात बन्द भएकाले खाने तेलको मूल्य बढेको बताउनुभयो । नेपालको हिमालदेखि तराईसम्म तोरी फल्ने भएकाले तोरीको उत्पादन बढाएर तेलमा समेत आत्मनिर्भर बन्नुपर्ने आवश्यक रहेको उहाँको भनाइ छ ।

मन्त्री शर्माले साढे तीन खर्ब रुपैयाँभन्दा बढीको वार्षिक आयातलाई रोक्नका लागि पहिलो वर्षमा ३० प्रतिशत आयात रोक्ने सरकारको नीति रहेको बताउनुभयो । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*