साना तथा मझौला उद्योगको विकास गर्न सके मात्र देशको अर्थतन्त्र सुधारिन्छः गोल्छा
नेपाल उद्योग वाणिज्य महासंघ नेपालका अध्यक्ष शेखर गोल्छाले साना तथा मझौला उद्योगको विकास गर्न सके मात्र देशको अर्थतन्त्रमा उल्लेख्य रुपमा सुधार आउने बताउनु भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको ५ औं प्रदेशसभामा बोल्दै अध्यक्ष गोल्छाले वर्तमान अवस्थामा भइरहेको तरलता अभावको अन्त्यका लागि वृहत अध्ययन गर्नुपर्ने बताउनुभयो । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९र०८० को बजेटमा उद्योगी व्यवसायीहरुको धेरै समस्याहरुलाई समाधान गर्न प्रयास गरेको उहाँले बताउनुभयो ।
निर्यातलाई बढाउन उद्योगीहरुलाई थप सुविधा दिने प्रकृतिको बजेट आएकाले यसले अर्थतन्त्रमा केही सुधार पनि हुने अवस्था देखिएको उहाँको भनाई छ । उद्योग क्षेत्र सरकारलाई कर तिर्न तयार रहेको भन्दै अध्यक्ष गोल्छाले नीजि क्षेत्रसंगको सल्लाह र सहकार्य गर्न सरकारसंग आग्रह गर्नुभयो ।
अध्यक्ष गोल्छाले उद्योग क्षेत्रको थप समस्याहरु मौद्रिक नीतिले पनि समाधान गर्ने बताउनुभयो । उहाँले उद्योगी व्यवसायीकको हित र उद्योग क्षेत्रको विकासका लागि विना धितो लगानीका आधारमा कर्जा प्राप्तीको व्यवस्था, जग्गा प्राप्तीमा सहजता, तरलता अभावको अन्त्य गर्नुपर्ने बताउनुभयो ।







