मेलम्ची खानेपानीको मुहानको ढोका मनसुन सुरु हुनुअघि नै बन्द गरिने
मेलम्ची खानेपानी आयोजनाको मुहानकाे ढोका मनसुन सुरु हुनु अघि नै बन्द हुने भएको छ । अघिल्लो वर्ष असार १ गतेको बाढीले क्षति गरेपछि मर्मत गरी गएको चैतमा पानी पथान्तरण गरिएको थियो ।
मर्मतपछि अस्थायी रुपमा काठमाण्डौमा पानी पठाउन थालिएको थियो । तर यस पटकको वर्षायाममा समेत बाढी/पहिरो आउन सक्ने र खानेपानी आयोजनाको मुहान क्षेत्रमा क्षति हुनसक्ने अनुमानसहित पानी पथान्तरण गर्ने सुरुङकाे ढोका बन्द गर्न लागिएको हो ।
मुहान क्षेत्रलाई जोगाउन एक नम्बर ढोका (वफर ड्याम) हेडवर्क्स अन्तर्गतका ९, १०, ३८ तथा अम्बाथानको अडिट पोर्टल अर्थात सुरुङ सफा गर्ने ढोका बन्द गर्न फलामे ढोका तयार गरिएको छ ।
मुहान क्षेत्रमा बाढीको पूर्वसूूचना दिने सतर्कताको घण्टी समेत जडान गरिएको छ । खानेपानी मन्त्रालयले मेलम्चीको पानी नआएका बेला काठमाण्डौको वाग्मती, भक्तपुरको महादेव जलाशय तथा जमिनमुनिको पानी सङ्कलन गरी प्रशोधनपछि वितरण गर्ने तयारी भइरहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ।
वाग्मती नदीबाट दैनिक १० करोड, महादेव जलाशयबाट दुई करोड लिटर तथा जमिनमुनिबाट आठ करोड गरी दैनिक २० करोड लिटर पानी वितरण हुनेछ । वर्षायाम सकिएलगत्तै आयोजना पुनः सञ्चालन हुनेछ । साभारः उज्यालो अनलाइन ।







