नवौँ शताब्दीको पार्वतीको मूर्ति नेपाललाई फिर्ता गर्दै अमेरिका

छहारी संवाददाता
२४ बैशाख २०७९, शनिबार ०९:४८

संयुक्त राज्य अमेरिकाको कनेक्टिकट राज्यमा रहेकाे येल युनिभर्सिटी आर्ट ग्यालरीले आफ्नो स्थायी सङ्ग्रहमा रहेको नवौँ शताब्दीमा बनेको ढुङ्गाको पार्वतीको मूर्ति नेपाललाई फिर्ता गर्ने भएको छ ।

याे मूर्ति नेपाललाई फिर्ता गर्नेसम्बन्धी सहमतिपत्रमा न्युयोर्कमा रहेकाे नेपाली महावाणिज्य दूतावास र येल युनिभर्सिटी आर्ट ग्यालरीबीच शुक्रवार हस्ताक्षर भएको महावाणिज्य दूतावासले जनाएको छ ।

२०३२ सालमा भक्तपुरको गोलमाडीमा र वीरभद्रेश्वर महादेव मन्दिरबाट मूर्ति हराएको थियो । सात वर्षअघि येल युनिभर्सिटी आर्ट ग्यालरीलाई एक जना दाताले मूर्ति प्रदान गरेका थिए ।

मूर्ति नेपालको भए/नभएको सम्बन्धमा ग्यालरी र नेपालको पुरातत्व विभागले बेग्ला–बेग्लै अनुसन्धान गरेका थिए । न्युयोर्कमा रहेकाे महावाणिज्य दूतावासले आर्ट ग्यालरी र पुरातत्व विभागसँगको समन्वयमा मूर्ति नेपाल फिर्ता गर्नेछ । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*